गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन्।
मंगलबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निर्मला पन्तको जस्तो जटिल नभएका कारण अनुसन्धानमा सफलता मिल्ने बताएका हुन्। अनुसन्धान अपराधीको नजिक पुगेको भन्दै उनले घटनास्थमै केन्द्रित भएर अनुसन्धान अगाडि बढाइएको बताए।
‘भागरथीको घटना निर्मला पन्तको जस्तो छैन, अनुसन्धानमा छिट्टै सफलता मिल्छ’, नेविसंघका सभापति राजीव ढुंगानासहितको टोलीलाई मन्त्री थापाले भने।
नेविसंघले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको थियो। मन्त्री थापाले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेको भन्दै अपराधीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाएको नेविसंघले जनाएको छ।
नेविसंघले अपराधीलाई तत्काल पक्राउ गरेर कारबाही नगरे कडा संघर्षकमा उत्रने चेतावनी दिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए।

प्रतिक्रिया