राजनीति


प्रदेश १ को प्रदेश सभा बैठक आज राख्ने तयारी, ओली पक्षले अवरुद्ध गर्ने सम्भावना

प्रदेश १ को प्रदेश सभा बैठक आज राख्ने तयारी, ओली पक्षले अवरुद्ध गर्ने सम्भावना

नेपालखबर
माघ २५, २०७७ आइतबार ३:३९,

प्रदेश १ को प्रदेश सभा बैठक आज (आइतबार) का लागि बाेलाइएकाे छ। 

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशनअन्तर्गत दोस्रो बैठक दिउँसाे २ बजेका लागि बाेलाएका हुन्। 

तर त्यसअघि अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिएका छन्। बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए ओली समूहले प्रदेश सभा बैठक अवरुद्ध गर्ने तयारी गरेकाे छ।

यसअघि यही माघ ७ गते बसेको पहिलो बैठक नेकपाका दुई पक्षको विवादकै कारण ३ मिनेट मात्र बसेर अनिश्चितकालका लागि स्थगन भएको थियो। 

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका १६ सांसदले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका छन् भने ओली समूहले उनीहरूलाई ३ महिनाका लागि निलम्बन गरेको छ।

आजको बैठकमा सभामुख भण्डारीले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची छ। तर मुख्यमन्त्री राई पक्षले प्रदेश सभा बैठक नै बस्न नदिने तयारी गरेकाे हाे।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अझै आफ्नो कित्ता प्रस्ट गरिसकेको छैन। जसले गर्दा प्रदेश सभा बैठक नै अन्याेलमा परेकाे छ। 

प्रदेश १ सभामा कूल ९३ सांसद छन्। जसमा नेकपाका मात्रै ६७ जना छन्। त्यसैगरी कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ १ जना सांसद छन्। नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईका पक्षमा २८ सांसद मात्रै देखिएका छन्।

प्रचण्ड–नेपाल समूहमा ३४ सांसद उभिएका छन् भने दुई जना तटस्थ छन्। प्रदेश सभामा अविश्वासको प्रस्ताव सफल वा असफल जे हुन पनि ४७ सदस्यको समर्थन आवश्यक हुन्छ।

कांग्रेसको समर्थनविना नेकपाका दुबै खेमालाई सरकार टिकाउन र ढलाउन आवश्यक संख्या पुग्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad