नेकपाको केपी ओली समूहले शुक्रबार नारायणहिटी दरबारको आँगनमा जनसभा गर्यो। सभाको तयारीदेखि अन्त्यसम्मै प्रधानमन्त्री केपी ओलीलाई कुनै लोकतान्त्रिक मुलुकका कार्यकारी प्रमुख होइन, नयाँ राजाका रुपमा प्रस्तुत गरिएको देखिन्थ्यो।
उसो त नेकपाको राजनीतिक विभाजन हुनु अघिदेखि नै ओलीले समर्थकहरुलाई आफ्नो व्यक्तित्व ब्रान्डिङमा लगाएका थिए। सबैभन्दा कट्टर कार्यकर्ताहरु उनलाई नेता मात्र होइन, ‘केपी बा’ नै भन्छन्।
यसअघि काठमाडौंदेखि धनगढी र भारतपुरसम्म ओलीले जति सभालाई सम्बोधन गरे, ती सबैमा ओलीलाई ‘राजनेता’का रुपमा प्रस्तुत गरिएको थियो।
तर, ती सबैको उच्चतम रुप देखियो– दरबारअगाडिको सभामा। सभामा देखिएका केही दृश्यले देखाउँथे– वास्तवमा ओलीलाई ‘राजा’ हुने रहर निकै चर्को छ।

यी हुन् त्यस्ता पाँच दृश्यः
पहिलो– नारायणहिटी गेटको सभाका लागि बिहीबार साँझदेखि नै मञ्च बनाउन थालिएको थियो। एक लाख मानिस उतार्ने भन्दै बनाइएको मञ्चमै ओली हिँडिरहेको पूर्ण कदको तस्बिर सजाइएको थियो। त्यति मात्र होइन, दरबारमार्गका बिजुलीका पोल र सभास्थल क्षेत्रमा उनका तस्बिरसहितका पोस्टर टाँसिएका थिए। विभिन्न स्थानमा सहभागीलाई फोटो लिनका लागि भन्दै पूर्ण कदका तस्बिर पनि राखिएका थिए। हातमा बोक्न बनाइएका झण्डामा ओली र सूर्यको तस्बिर छन्।
दोस्रो– शुक्रबार सभा सुरु भएर स्वागत मन्तव्य सकिएपछि प्रधानमन्त्री ओली मञ्चमा प्रवेश गर्दैगर्दा राजा महाराजाको झैं उनको जयजयकार गरियो। कार्यक्रम सञ्चालकले नै ‘केपी ओली–जिन्दावाद’, ‘राजनेता केपी ओली– जिन्दावाद’ जस्ता नारा लगाए र, सहभागीलाई पनि त्यही नारा लगाउन आग्रह गरे।
तेस्रो– सभाको सुरुमा एउटा ठूलो नीलो बेलुन उडाइयो, जसमा केपी ओली र सूर्य चिन्हको तस्बिर अंकित थियो।
चौथो– सभामा गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलको मन्तव्यपछि ओलीको बोल्ने पालो आयो। उनको मन्तव्यअघि एक जना चित्रकारले बनाएको ओलीको पूर्ण कदको चित्र उनलाई हस्तान्तरण गरियो। र, त्यहाँ फेरि ‘राजनेता केपी ओली–जिन्दावाद’ को नारा लगाइयो।
पाँचौँ– सबैभन्दा रोचक पक्ष सभाका सबै वक्ताले प्रधानमन्त्री केपी ओलीको महिमा गान गाए। सभा सञ्चालक आनन्द पोखरेल, सभापति कृष्णगोपाल श्रेष्ठदेखि वक्ताहरू सत्यनारायण मण्डल, रामबहादुर थापा, ईश्वर पोखरेल आफ्नो समूहको एजेन्डाभन्दा पनि ओलीको गुणगानमै बढी केन्द्रित भए।
थापाले ‘मांसहारी आन्दोलनको अपराध’ गरेर प्रचण्ड–नेपाल समूहले ओलीको नेतृत्वलाई चुनौती दिएको बताए भने पोखरेलले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेदेखि नै प्रचण्डले अवसरवादी खेल खेलेको आरोप लगाए। त्यसैगरी उनले ओली जता हुन्छन्, नेकपाको मूल प्रवाह त्यतै हो भनेर घोषणा गरे।

यी दृश्यले ओली समूहमा नेतृत्वको खडेरीलाई उदांगो पारेको पूर्वप्राध्यापक कृष्ण पोखरेल बताउँछन्।
‘सामान्यतया कम्युनिस्ट पार्टीको संगठन सामूहिक नेतृत्वमा चल्छ। युद्धको अवस्थामा तत्काल निर्णय गर्नु पर्ने अवस्था हुँदा एक जनालाई सुप्रिम नेता घोषणा गर्ने काम हुन्छ,’ राजनीतिशास्त्रका पूर्वप्राध्यापक पोखरेलले भने, ‘व्यक्तिलाई ब्रान्डिङ गरिने राजनीति बुर्जुवा राजनीति हो। दीर्घकालमा यसको जोखिम बढी देखिन्छ। अहिले ओलीतर्फ कुनै नेता छ र भने जस्तो छ। ओलीतर्फ उनीपछिको नेता नै देखिँदैनन्।’
माओवादीको सशस्त्र द्वन्द्वको समयमा पुष्पकमल दाहाल प्रचण्डलाई सुप्रिमो घोषणा गरिएको थियो। त्यसै समयमा प्रचण्डको देवत्वकरण भयो भनेर माओवादीभित्र आलोचना भएको थियो।

शुक्रबारको सभामा पनि बोल्ने अधिकाशं वक्ताहरुले प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिए। जुलुस र मञ्चबाट समेत ‘राजनेता केपी ओली जिन्दावाद!’ नारा लगाइएको थियो। बिहीबारको जुलुसमा पनि उनका कार्यकर्ताले ‘केपी ओली आई लभ यु’ को नारा लगाएका थिए।
ओलीको यस्तो गतिविधि अराजनीतिक देखिएको राजनीतिक विश्लेषक हरि रोका बताउँछन्।
‘अहिले अवस्था हेर्दा यो केपी शर्मा ओलीको ‘वान म्यान शो’ हो। बाँकी चाहिँ खेताला जस्ता देखिन्छन्। यो राजनीतिक भन्दा बढी अराजनीतिक छ,’ रोकाले भने, ‘उदारवादी प्रजातान्त्रिक दलमा पनि छलफल हुन्छ र त्यसैअनुसार निर्णय हुन्छ। माओवादी र एमाले एकीकरण भएपछि नेकपामा कहिल्यै पनि त्यसरी निर्णय भएन। अहिले पनि त्यही क्रम छ।’

प्रतिक्रिया