शंकास्पद मानिएको सडक दुर्घटनामा ज्यान गुमाउने नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई हस्तान्तरण गरिँने भएको छ।
वाग्लेकै इच्छाअनुसार उनको मृत शरीर चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययनका लागि हस्तान्तरण गर्न लागिएको पारिवारिक स्रोतले जनाएको छ। त्यसका लागि वाग्लेको शव लिएर परिवारका सदस्य र पार्टीका नेता कार्यकर्ता बिहीबार साँझ धरान प्रस्थान गरेका छन्। नेकपाका नेता, कार्यकर्ता र शुभचिन्तकले सडकमा लामवद्ध भएर वाग्लेलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

वाग्लेकी पत्नी सरस्वती मिश्र, कान्छो छोरा प्रलय वाग्लेसहितका परिवारका सदस्य र पार्टीका नेता कार्यकर्ता वाग्लेको शव लिएर धरान गएका हुन्। वाग्लेका जेठा छोरा प्रज्वल वाग्ले भने अध्ययनको शिलशिलामा जर्मनीमा छन्।
आन्दोलनरत नेकपाका सर्लाही जिल्ला इन्चार्जसमेत रहेका ५२ वर्षीय वाग्लेको बुधबार राति सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा शव फेला परेको थियो।
आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। तर, नेकपा सर्लाही जिल्ला कमिटी र वाग्लेका परिवारका सदस्यले भने उनको मृत्यु शंकास्पद देखिएको भन्दै छानविनको माग गरेका छन्। बुधबार राति नौ बजे घटना भएको हो। मोटरसाइकलमा उनी एक्लै सवार रहेका बताइएको छ।
इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए। अहिलेसम्म प्राप्त प्रमाणका आधारमा दुर्घटनाकै कारण वाग्लेको मृत्यु भएको दाबी प्रहरीले गरेको छ।
वाग्लेको शव पोष्ट मार्टमका लागि बिहीबार बिहान जिल्ला अस्पताल मलंगवा लगिएको थियो। पछि त्यहाँ पोष्टमार्टम नगरी धरान लैजाने सल्लाह भएकाले धरान लगिएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए।
शव धरान लैजानुअघि उनको पार्थिव शरीर सर्लाहीको हरिपुर नगरपालिका १ हजारबिघास्थित घर लगिएको थियो। जहाँ वाग्लेका वृद्ध बुवाआमासहितले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि हरिवनमा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकले पुष्पगुच्छा अर्पण गर्दै वाग्लेलाई अन्तिम विदाइ गरेका थिए।

लोकप्रिय नेता वाग्ले पार्टीमा कुशल संगठक र प्रखर बक्ताको रुपमा चिनिन्थे। एक वर्षअघि वाग्लेकै नेतृत्वमा नेकपाले सर्लाहीमा मिटरब्याजी सुदखोरहरुविरुद्ध कारबाही अभियान चलाएको थियो। जुन अभियानले राष्ट्रिय रुपमै ठूलो चर्चा पाएको थियो।
यो पनि नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले जंगलमा मृत, घटना शंकास्पद

प्रतिक्रिया