बाइडेनले अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि ताइवान स्ट्रेटमा पहिलोपटक अमेरिकी सैन्य जहाज पुगेको सीएनएनले जनाएको छ।
चीनले दोहोर्याउँदै यस क्षेत्रमा अमेरिकी उपस्थितीको विरोध जनाउँदै आएको छ।
गत डिसेम्बर महिनामा पनि अमेरिकाको दुईवटा सैन्य जहाज ताइवान र चीनको समुद्री सीमाबाट तैरिएको थियो।
त्यसबेला चीनले अमेरिकी खतराको सामना गर्न आफू तयार भएको बताएको थियो।
अमेरिकी कार्यलाई उत्तेजक बताउँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले चिनियाँ जनमुक्ति सेनाहरु उच्च सतर्कताका साथ जस्तोसुकै खतराको सामना गर्न तयार भएर बसेको बताउँदै चीन राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय एकताको रक्षा गर्न सक्षम भएको बताएका थिए।
उनले अमेरिकी हस्तक्षेपले यस क्षेत्रको शान्ति र स्थायित्वमा असर गरेको साथै यस कार्यले ताइवान अलग्याउने चाहनेलाई गलत संकेत दिएको पनि उल्लेख गरेका थिए।
बाइडेनको प्रशासनमा पहिलोपटक अमेरिकी जहाज ताइवान स्ट्रेट पुगेपछि चीन थप चिढिने अनुमान गरिएको छ।
बाइडेनले गत महिना जनवरी २० देखि अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका हुन्।
अमेरिकाले बारम्बार खुला इन्डो–प्यासिफिक क्षेत्रको विषयमा जोड दिँदै चिनियाँ दादागिरीसँग डराउन नहुने बताउँदै आएको छ।
विश्लेषकहरुका अनुसार इन्डो–प्यासिफिकको मामिलामा बाइडेन प्रशासन पनि ट्रम्पको नीतिमा कटिवद्ध छ।
हालै अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले चीनसँगको अमेरिकी नीति परिवर्तन नभएको र आफूहरु चीनको ‘एक चीन नीति’मा प्रतिवद्ध भएको बताएका थिए।
तर ताइवान स्ट्रेटमा अमेरिकी जहाज पुग्ने कार्यले अमेरिका एक चीन नीतिको पक्षमा भएको देखिँदैन। अमेरिकाले अघोषित रुपमा ताइवानलाई समर्थन जनाउँदै आएको छ।
त्यहाँकी राष्ट्रपति साइ इंग–वेनले पनि चिनियाँ नीति ताइवानमा नचल्ने बताउँदै आएकी छिन्।
चीन र ताइवानबारे तथ्य
–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ। उनीहरु दुबै प्रशान्त क्षेत्रमा प्रभावशाली बन्न चाहन्छन्।
–बेइजिङले यस टापु फिर्ता लिन शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा यहाँ तनाव बढेको छ।
–ताइवानलाई थोरै राष्ट्रहरुले मात्र मान्यता दिएको छ। ताइवानलाई साथ दिने अमेरिकाले ताइवासँग स्वतन्त्र कुटनीतिक सम्बन्ध जोडेको छैन।

प्रतिक्रिया