सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएको विरोधमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आमहडतालको घोषणा गरेका थिए।
उक्त समूहले घोषणा गरेको आम हड्तालमा विवेकशील साझा पार्टीले भने सुरुदेखि नै विरोध जनाउँदै आएको थियो। विवेकशील साझाले विगतदेखि नै आफूपनि बन्द नगर्ने र अरुको बन्द पनि स्वीकार नगर्ने निती लिदैँ आएको छ।
बिहीबार नेकपाको एक समूह देशव्यापी आमहड्तालमा पसल, यातायात, उद्योगधन्दा बन्द गराउँदै हिड्दा विवेकशील साझाका नेता कार्यकर्ता भने ‘नेपाल खुल्ला छ’ भन्ने प्ले कार्डसहित सडकमा उत्रिएका थिए।
काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले बन्दका विरोधमा शान्तिपूर्ण प्रदर्शन समेत गरे।
आम हड्तालले सर्वसाधारणलाई मार्का पर्नसक्ने भन्दै बिहानैदेखि सडकमा उत्रिएर आवश्यक परेका मानिसहरुलाई गन्तव्यसम्म पुर्याउन विवेकशील साझाका गण्डकी प्रदेश अभियान विभाग प्रमुख अशोक खड्का सक्रिए थिए।
दिनभरिएको अनुभव सुनाउँदै उनले भने, ‘मानिसहरुले अब बन्दलाई टेर्न छाडेका छन। धेरैले बन्द समस्याको सामाधान होइन भन्ने बुझिसकेका छन। हिजो बन्द हुँदा युवाहरु क्रिकेट, फुटबल खेल्दै सडकमा उत्रिन्थे भने बिहीबार त्यस्तो दृश्य देखिएन। केही मुख्य सडकबाहेक मानिसहरुले बन्दको अटेर गर्दै खुलारुपमा क्रियाकलाप गरिरहेका थिए।’
अशोकलाई समेत पोखराको पृथ्वीचोकमा बन्दकर्ताहरुले रोकेका हुन। तर स्थानीयस्तरमा चिनिएको भएकाले उनलाई बन्दकर्ताले आफूहरुको विरोधमा साथ दिन भन्दै छाडिदिएका थिए।
सरकारी यातायातबाहेक नीजी सवारी साधनहरु चलेकाले कसैबाट सहयोगको अपेक्षा भने नआएको खड्काले बताए।
विवेकशील साझाकै अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठ पनि बिहानै आफ्नो स्कुटरमा नेपाल खुला छ भन्ने पम्पलेट टासेर आवश्यकता परेकाहरुको सेवाका लागि सडकमा निस्केका थिए।
दिउँसो तहाँचलको ब्लड बैंकबाट एक ७२ वर्षीय वृद्धाका लागि उनले किस्ट मेडिकलमा ब्लड समेत पुर्याए। सोक्रममा सातदोबाटोमा उनलाई बन्दकर्ताले अनेक सोधपुछ समेत गरेका थिए।
तर आफूले बिरामीका लागि ब्लड पुर्याउँन बताएपछि बन्दकर्ताले उनलाई जान दिएका थिए। त्यसबाहेक प्रमेश पार्टीको कार्यक्रममा सहभागी भएर दिनभर स्कुटर चलाउँदै नेपाल खुला रहेको सन्देश दिदैँ हिडे।
‘हामीले कुनै पार्टीका विरुद्धमा प्रदर्शन गरेका हैनौं। बन्द हड्ताल जस्ता अरुलाई डरको राजनीति गर्ने संस्कार बन्द हुनुपर्छ मात्रै भनेका हौं,’ प्रमेश भन्छन्, ‘हामीपनि संसद विघटन र असवैंधानिक नियुक्तिको विरोधमा छौं तर नागरिकलाई दुख दिने बन्द हड्तालविरुद्ध धेरै नागरिकहरु सचेत भएको पाउँदा खुशी मानेका छौं।’

प्रतिक्रिया