नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नेता सिंहले संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको बताएका छन्।
उनले संवैधानिक परिषदको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको बताउँदै बुधबार गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम भएको बताएका छन्।

उनले संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने बताएका छन्। उनले प्रधानमन्त्रीको मनपरीका कारण संविधान नै संकटमा परेको बताए।
‘७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको छ। अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ’, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताउँदै अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत रहेको आरोप लगाएका छन्।
उनले संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल समेत गरेका छन्।

प्रतिक्रिया