जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पार्टीबाट ननिकालेको देख्दा शंका लागेको बताएका छन्।
आज (सोमबार) बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रचण्ड र नेपाल अझै सत्ताकै दाउमा रहेको हाे कि भन्ने आशंका व्यक्त गरेका हुन्।
‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न? तपाईंहरू कित्ता क्लियर गर्नुस्,’ डा. भट्टराईले भने, ‘तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ।’
यस्तै डा. भट्टराईले सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए हातमा दही जमाएर नबस्ने चेतावनी पनि दिएका छन्।
‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने,’ उनले भने, ‘बाहिरी हस्तक्षेप भएमा हामी रामनाम जपेर बस्दैनौं।’
प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म आफ्नो पार्टीले सडक संघर्ष जारी राख्ने बताउँदै डा. भट्टराईले नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसलाई संयुक्त आन्दोलनमा सहभागी हुन आह्वान पनि गरे।
यस्तै कांग्रेसलाई चुनाव हुने लोभमा नपर्न र ढुलमुले नीति त्याग्न डाक्टर भट्टराईले सुझाव दिएका छन्।
‘यो चुनाव हुनेवाला छैन। भए पनि केही प्राप्त हुनेवाला छैन,’ उनले भने, ‘पहिले संविधान ट्रयाकमा ल्याउनुपर्यो। त्यसपछि लाभ लिने त कांग्रेसले नै हो।’

प्रतिक्रिया