नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले कांग्रेस स्वार्थका लागि लड्ने पार्टी नभएको बताएका छन्।
शनिबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का प्रजातन्त्र सेनानी स्व. एकनारायण खनालको नवौँ पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसलाई चुनावमा जान हतार नभएको बताएका हुन्।
नेता पौडेलले चुनाव अहिलेको प्राथमिकता नभएको बताए। उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्नेमा जोड दिए।
चुनाव आयो कांग्रेस पहिलो पार्टी हुन्छ भनेर निर्वाचनमा जान हतार गर्न नहुने उनको भनाइ थियो।
‘चुनावमा जान कांग्रेसलाई कुनै हतार भएको छैन’, उनले भने, ‘अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन। कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन।’
नेता पौडेलले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसको चर्को आलोचना गर्दै आइरहेका छन्। कांग्रेसभित्र सभापति देउवा पक्ष चुनावमा जान तयार भएपछि पौडेल त्यसको विपक्षमा उभिँदै आएका छन्।
नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान कांग्रेस तयार रहेको बताए। ‘चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ’। उनले भने। जनताले विश्वास गरेर कम्युनिस्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए।
नेता पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए। संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा उनको जोड थियो।

प्रतिक्रिया