राजनीति


ज्योतिषको गाउँ पर्वतबाट कांग्रेस सभापति देउवाका ४ तीर

ज्योतिषको गाउँ पर्वतबाट कांग्रेस सभापति देउवाका ४ तीर

वाशुदेव मिश्र
माघ १, २०७७ बिहिबार १३:४३,

प्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटन र चुनाव घोषणा गरेपछि सबैका आँखा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ सोझिएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएका बेला कांग्रेसको साथ प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल दुबै समूहलाई चाहिएको छ।

त्यसो त, प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै सदन पुनःस्थापनाको मागसहित संयुक्त मोर्चा बनाउन अन्य दलहरुले पनि कांग्रेससँग प्रस्ताव गरेका छन्।

तर, यी यावत् प्रस्तावप्रति समयमै कांग्रेसको स्पष्ट धारणा बाहिर आएन।

संभावित सत्ता समीकरणको साँचो हातमा लिएर बसेका कांग्रेस सभापति शेरबहादुर देउवाले त आफ्नो पार्टीको बैठकमा चुनावमा जानुपर्ने अडान नै लिए।

तर, कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दवावपछि उनी केहि नरम बने।

आन्दोलनमा जाने तर संसद पुनःस्थापनाको माग नगर्ने अडानमा कांग्रेस उभियो।

कांग्रेसले संसद पुनःस्थापनाको मुद्दा अदालतको अधिकार भएको बताएको छ। तर अडानप्रति असन्तुष्ट धार कांग्रेसमा कमजोर छैन।

यो दोधारे नीतिकैबीच कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हल्लाले सामाजिक सञ्जाल तात्तिएको छ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको समेत सार्वजनिक भएपछि सत्ताखेलमा माहिर देउवाबारे झन् बढि अड्कलबाजी भएका हुन्।

सामाजिक सञ्जालमा उनलाई सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणि गरिएका ज्योतिषको खोजी पनि व्यापक छ।

यस्तो बेला कांग्रेस सभापति देउवाको बोलीले धेरै अर्थ राख्नु अस्वभाकि हैन।

संयोग कस्तो भने, प्रचण्ड–नेपालसँग भेटेको भोलिपल्टै देउवा ज्योतिषहरुको गढ मानिने पर्वत जिल्ला आइपुगे। पर्वतको पाङ नपुगे पनि जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा आयोजित सभामा बोल्दै उनले वैशाखमा चुनाव गराउन नसके प्रधानमन्त्री ओली मुलुकमै रहननसक्ने ठोकुवा गरे।

Deuba in parbat 1

चुनाव नगराए ओलीलाई देशमै बस्न नसक्ने बनाइदिने
पर्वतका शहीद हरिदत्त तिवारीको १८औँ स्मृति दिवसको अवसरमा जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा आयोजित सभामा उनले अदालतले संसद् पुनःस्थापना नगरेमा निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यस्तो चेतावनी दिएका हुन्।

‘पहिले ओलीलाई भोट दिएर जिताउने, अहिले बदमास रहेछ भन्न पाइन्छ? अहिले बदमास भन्ने भए त्यतिबेला भोट किन दिएको त?’ सभापति देउवाले भने, ‘वैशाखमा चुनाव गराउन नसके ओलीलाई यो देशमा बस्नै नसक्ने गरी कांग्रेसले धक्का दिन्छ।’

उनले प्रधानमन्त्री ओलीले निर्वाचन गराउँछन् भन्नेमा चाहिँ विश्वास नभएको पनि बताए।

संसद् विघटनको मुद्दा अदालतमा रहेको बेलामा कसैले पनि अदालतलाई दवाव दिने काम गर्न नहुने बताउँदै उनले कांग्रेसले कहिल्यै पनि यस्ता खराब काम नगरेको दाबी गरे।

सर्वोच्च अदालतलाई सदनले दवाव दिने भए सर्वोच्च अदालत किन चाहियो? भन्ने प्रश्न गर्दै देउवाले अहिलेको अवस्थामा अदालतले विचार पुर्‍याउने भएकोले अदालतलाई धम्क्याउने काम गर्न नहुने उल्लेख गरे।

‘सर्वोच्च अदालतलाई सदनले दवाव दिने भए सर्वोच्च अदालतको के काम? कांग्रेसले कहिल्यै पनि अदालतलाई प्रेसर दिँदैन,’ उनले भने, ‘संविधानको व्याख्या गर्ने अदालतले हो। देशमा विज्ञ र वकिलहरू छन्, उनीहरूले यो विषयमा बहस गर्ने छन्।’

छिटो चुनाव राम्राे 
कांग्रेस सभापति देउवाले जनता सर्वोच्च अदालतभन्दा पनि शक्तिशाली अदालत भएकोले निर्वाचनबाट भाग्न नहुने बताए। एकदिन चुनावमा जानैपर्ने भएकाले छिटो चुनाव घोषणा हुनु कांग्रेसको लागि राम्रो भएको आशय पनि उनले व्यक्त गरे।

‘एकदिन जनताको माझमा जानैपर्छ। जनताको भोट लिएर आउनपर्छ। त्यसका लागि चुनावसँग डराउने अवस्था त हुँदै हुँदैन नि। जनताको भोट पाउनु भनेको जनताको साथ पाउनु हो,’ उनले भने, ‘अब कांग्रेसीहरू पनि जनताको घर घरमा पुगेर दुःख सुखमा साथ दिएर चुनावको तयारीमा पनि होमिनुपर्छ।’

कृष्णप्रसादजस्तो कसैले पार्टी छाड्नु पर्दैन
कांग्रेस सभापति देउवाले अब कांग्रेसमा कृष्णप्रसाद भट्टराईले जस्तो पार्टी नै छाडेर हिँड्ने अवस्था नआउने दाबी समेत गरे।

पार्टीभित्र उनीविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दवाव बढाउँदै लगेको बेला देउवाले सो अभिव्यक्ति दिएका हुन्। ‘म सभापतिका हैसियतले पार्टीभित्रको विवाद मिलाउन जुनसुकै बेलामा पनि प्रयासरत हुन्छु। विवाद मिलाउने मेरो कर्तव्य हो। सभापति भएपछि म आफै पार्टी बिगार्न हिँडुँला र?’, देउवाले भने, ‘कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छोडेर हिँड्नुपर्ने अवस्था अब कांग्रेसमा आउँदैन।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाले आफूहरुलाई पाखा पारेको र विधि–पद्दति मिचेको आरोप लगाइरहँदा आएको अभिव्यक्तिलाई कांग्रेसीले नै अर्थपूर्ण रुपमा लिएका छन्।

कांग्रेस महाधिवेशन भए देउवाविरुद्ध उनकै समूहका विमलेन्द्र निधीले पनि उम्मेदवारी घोषणा गरेका छन्। देउवाविरुद्ध कोइराला खेमाका शेखर र शशांक पनि चुनाव लड्ने दाउमा छन्।

सभापति देउवाले आफू सभापति भएकोले पार्टीभित्रको विवाद मिलाउनु नै आफ्नो कर्तव्य भएको बताए।

दुबैसँग नमिल्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न प्रचण्ड र माधव नेपाल आएको स्वीकारे। बुधबार साँझ आफूलाई भेट्न आएका प्रचण्ड–नेपाललाई आफूले नेकपाको कुनै खेमासँग नजिक नहुने प्रष्ट पारेको बताए। नेकपा २ भागमा विभाजित देखिए पनि कानूनी रुपमा एउटै रहेकाले कांग्रेस कसैसँग नजिकिने अवस्था नभएको देउवाको भनाई थियो।

उनले आफूलाई प्रधानमन्त्री बन्न आग्रह गरिएको-नगरिएकोबारे केही नबताए पनि सहकार्यको प्रस्ताव गरिएको भाव भने व्यक्त गरे। उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका कांग्रेस कार्यकर्तालाई दुःख दिने गरेको भन्दै आलोचना गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .