राजनीति


प्रधानमन्त्री ओली हिटलरजस्तै : डा भट्टराई

प्रधानमन्त्री ओली हिटलरजस्तै : डा भट्टराई

वाशुदेव मिश्र
पुस २९, २०७७ बुधबार १३:५३,

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरको दोस्रो रुपको संज्ञा दिँदै सर्वनाश नभएसम्म उनले नछाड्ने जिकिर गरेका छन्। 

‘ओलीमा हिटलर प्रवृत्ति देखियो, जसरी हिटलरले द्वन्द्व मच्चाए, अहिले ओलीले पनि त्यस्तै गर्दैछन्’, जनता समाजवादी पार्टीले बुधबार पोखरामा आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष भट्टराईले भने,‘ तपाईंहरुलाई लाग्ला चुनाव हुन्छ भनेर तर भ्रममा नपर्नु चुनाव हुँदैन। ओलीलाई थाहा छ, चुनावमा गए हार निश्चित छ भनेर, बहुमतको आधार छैन भन्ने थाहा छ, हिटलरले जे गरे ओलीले त्यही गरेका छन्।’

भट्टराइले प्रधानमन्त्री ओली आफूलाई मन नपरेको सबै चिजको सत्यानाश गर्ने प्रवृत्तिको भएको जिकिर गर्दै प्रतिनिधिसभा विघटन पनि नभएको बताए।

‘उनले हार मान्दैनन्। संकटकाल र आपतकालको घोषणा गर्ने नियतले यो गरेका हुन्’, नेता भट्टराईले भने ,‘संसद् भंग गरेपछि प्रधानमन्त्री समेत बस्न पाइदैँन तर बसेका छन्। संकटकाल लाग्यो भने ओलीतन्त्रले देशमा अराजकता मच्चाउँछन्।’

जनतालाई केही समय हँसाएर फसाउने र आफ्नो जालमा पार्ने ओलीको पहिलेदेखिको बानी रहेको बताउँदै नेता भट्टराईले राष्ट्रवादको खोक्रो नारा घन्काएर छिमेकी मुलुकसँग नझुकेको नाटक गरे पनि अहिले तिनैसँग झुकेको जिकिर गरे।

‘ओलीले घुँडा टेकीसकेका छन् उनीहरुसँग मिलेर राष्ट्रघात गर्दैछन् त्यो आधार मसँग छ’, भट्टराईले भने।

नेता भट्टराईले नक्कली राष्ट्रवादमाथि भर नपर्न आग्रह गर्दै ओलीतन्त्रको अन्त्य नभएसम्म सडकबाट खबरदारी गरिरहनुपर्नेमा जोड दिए। संसद् भंग सफल भए ओलीले आफ्नो इच्छा अनुसार एक वर्षमै पनि फेरि भंग गर्न सक्ने खतरा रहेको उनको भनाई थियो।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नदिएको र विघटन गर्नैपर्ने भएमा विभिन्न तरिकाले संसद् गठन गर्ने प्रावधानको व्यवस्था रहेको तर्क गर्दै नेता भट्टराईले संसद पुनःस्थापनामा जोड दिए।अदालतले पनि न्याय नदिए अदालतभन्दा ठूलो न्यायलय जनअदालत रहेको र त्यहीँबाट निर्णय हुने उनले बताए।

सम्बोधनकै क्रममा उनले सभामुखले संसद् बोलाउन ठाउँ बाँकी रहेको जिकिर पनि गरे। संसद् पुनःस्थापनाको लागि कांग्रेसले पनि खुट्टा नकमाई सडक आन्दोलन गरे ओलीको पतन निश्चित रहेको उनको भनाई थियो। प्रतिपक्षी कमजोर भएकै कारण ओलीले त्यसको फाइदा उठाएको पनि उनको जिकिर थियो ।

‘ओली शेरबहादुर देउवालाई पनि केही भाग दिने सोचले अहिले हिँडेका छन् तर रामचन्द्रलगायत केही नेताले विरोध गरेको कारण त्यो सफल हुन सकेको छैन्’,नेता भट्टराईले थपे।

कोरोना महामारीको समयमा जनताको लागि स्वास्थ्य पहुँच र खोप ल्याउनुपर्ने अवस्थामा आन्दोलनमा बाध्य भएर आउनुपरेको उनको भनाइ छ। ओली प्रतिगमनपछि पुराना पार्टीबाट वाक्कदिक्क भएर जसपाप्रति जनताको आकर्षण बढ्दै गएको अनुभूति भएको भट्टराईले बताए।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले जनताको आवाज पोख्ने संसदमा ओलीले प्रहार गरेको बताए। ओलीले केही समय आफ्नै नाम समेत लुकाएको र अहिले त्यही खड्गले संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै नेता राईले संसदको गर्धनमा प्रहार गर्दै पार्टी भित्रको रिस जनतालाई देखाएको आरोप लगाए।

ओलीको ढाट्ने प्रवृत्तिले गर्दा देश निकै ठूलो संकटमा परेको र ओलीले जिते राष्ट्रप्रति ठुलो घात हुने उनको भनाइ छ। जनताले ७० वर्ष देखि प्रतीक्षा गरेको समय सिध्याउने खेल खेलको र त्यसको परास्त गर्न पर्ने उनको भनाइ थियो।

‘कुनै बेला उहाँ (प्रधानमन्त्री ओली) नायकको भूमिकामा हुनुहुन्थ्यो। तर अहिले प्रतिनिधिसभा विघटन गरेर खलनायकको भूमिकामा देखिनुभएको छ’, वरिष्ठ नेता राईले भने,‘ओलीज्यु तपाई अब निर्वाचनको सपना नदेख्नुस्। अब सिंहदरबारबाट झोलाका गुण्टा बोकेर बाहिरिने तयारी गर्नुस्।’

विरोधसभाअघि जनता समाजवादीले पोखरामा विरोध ¥याली पनि निकालेको थियो। पोखराको चिप्लेढुंगाबाट सुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .