प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीबाट देशको र समाजको परिवर्तन सम्भव नभएको दावी गरेका छन्।
कम्युनिस्ट नेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई सिरहाको वस्तीपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ओली भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको भएको बताए।
उनले भष्मासुर प्रवृतिका ओलीलाई छिट्टै आफूहरुले भष्म गरिदिने चेतावनी समेत दिए।

‘ओली दुर्योधन, दुशासन र भष्मासुर प्रवृतिका छन्। त्यसैले उनीबाट देश परिवर्तन, समाज रुपान्तरण र जनहतिको काम सम्भव छैन’, अध्यक्ष नेपालले भने, ‘हामी छिट्टै भष्मासुरलाई नै भष्म गरिदिन्छौं।’
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरी मुलुकलाई संकटमा धकेलेको भन्दै उनले झुट, अहंकार, घमण्डको दोश्रो नाम केपी शर्मा ओली रहेको तर्क गरे।
ओलीले देश र पार्टी दुबै चलाउन नसकेको नेपालको आरोप छ। उनले अनुशासनको पालना, मार्यादा, सिद्धान्त, विचारमा चल्ने मान्छेबाट मात्र पार्टी लगायत देश र समाजको विकास तथा हित हुने दावी गरे।
अध्यक्ष नेपालले ओलीलाई पटक–पटक सुधार गर्न प्रयास गर्दा समेत नसुध्रेको र अन्तमा असंवैधानिक कदम चालेर देशलाई नै दुर्घटनामा धकेलेको बताए।

उनले ओलीले बुहमत आफ्नो पक्षमा रहेको रअधिकारिक आफू रहेको दावी गरेर झुटको खेती गरिरहेको आरोप लगाए। संसद विघटन गरेपछि ओली आफै कामचलाउ भइसकेको नेपालको दावी छ। अध्यक्ष नेपालले बहुमत आफ्नो पक्षमा रहेको दावी गर्दै ओलीको असंवैधानिक ‘कू’का विरुद्ध आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री तथा नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पार्टीमा सशक्त अनुशासनको अवश्यक्ता रहेको बताए। हरेक दिन प्रधानमन्त्री ओली जथाभावी झुट बोलेर भ्रम फैलाउने गरेकाले केपी प्रवृतिबाट बच्न उनले आग्रह गरे।


प्रतिक्रिया