पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले रुन्चेपिन्चे कुरा गरेर ओलीको प्रतिगमन सच्याउन नसकिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना गर्दै आएका डा. भट्टराईले नेकपाकै प्रचण्ड–नेपाल समूहतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
प्रचण्ड–नेपाल समूह आझैपनि प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गरी आत्मालोचना गरेमा एकै हुन सक्ने मनस्थितिमा रहेको भन्दै डा. भट्टराईले खबरदारी गरेका हुन्। उनले प्रचण्ड–नेपाल समूह अझै पनि ओलीसँग सँगै हुन सक्ने मनस्थितिमा रहेका कारण निर्णायक आन्दोलन हुन नसकेको बताएका हुन्।
डा. भट्टराईले हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सन आग्रह समेत गरेका छन्।
‘ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा... पार्टी एकता हुनसक्छ, सँगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है’, डा. भट्टराईले शुक्रबार साँझ ट्विट गर्दै भनेका छन्, ‘हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठूलो भूमिका थियो भन्ने नबिर्सौं। इतिहास नदोहोरिओस्।’
प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी लगायतका पार्टीहरु आन्दोलनमा ओर्ले पनि अहिलेसम्म संयुक्त आन्दोलनका विषयमा ठोस् सहमति हुन सकेको छैन। दलहरुले संयुक्त आन्दोलनलाई लिएर एक अर्काप्रति शंका गरिरहेका छन्।

प्रतिक्रिया