जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गरेका छन्।
समाजवादी युवा संघले जनकपुरमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भएको बताए। उनले कांग्रेस पनि ढुलमुले भएकाले आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी अब जसपाको काँधमा आएको दावी गरे।
डेट एक्सपायर भैसकेको नेपाली कांग्रेस र इन्जिन बिग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान नसक्ने उल्लेख गर्दै उनले परिवर्तनको सम्बाहक युवाहरुलाई अबको नेतृत्व लिनुपर्नेमा जोड दिए।
अध्यक्ष यादवले संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको तर्क गरे।
प्रतिक्रिया