राजनीति


राष्ट्रिय सभा बैठकअघि पीसीआर परीक्षण, उच्च सतर्कता अपनाउन अध्यक्षको आग्रह

राष्ट्रिय सभा बैठकअघि पीसीआर परीक्षण, उच्च सतर्कता अपनाउन अध्यक्षको आग्रह

नेपालखबर
पुस १५, २०७७ बुधबार १२:३५,

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए। तर यो अवधिभर राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेका छन्।

१७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए। संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उहाँले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गरे।

उनले भने, ‘अहिले हामी कोभिड–१९ कै महामारीकाबीचमा छौं। तसर्थ स्वास्थ्य सावधानि अपनाउने कुरामा माननीयज्यूहरु जो जिल्लामा, क्षेत्रमा बाहिर जानुभएको छ उहाँहरु अलिक सर्तकता, क्वारेन्टाइनमा सम्म बस्नेपनि बिचार गरेर आइदिनुप¥यो। भोलि उहाँहरुको स्वाव संकलन एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौं। पर्सि रिपोर्ट आइहाल्छ। त्यसको आधारमा प्रवेश गर्छौं। यसकारण स्वाव दिनुअघि आजैको दिनमा पनि बाहिर, अरु मासमा अन्यत्र नजाउँ। किनकी आजको संक्रमण भोलिको स्वावमा देखिँदैन। त्यसकारण सर्तकता अपनाउँ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य बाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गरेका छन्।

उनले भने, ‘सुरक्षाकर्मी, सचिवालयका कर्मचारी, पत्रकार मित्रहरु जो त्यहाँ जान्छौँ उहाँहरु उच्च सर्तकताका साथ जानुपर्‍यो। दूरी कायम राखिदिने, मास्कको अनिवार्य प्रयोग गरिदिने, त्यहाँ सेनिटाइजरको व्यवस्था गरिएको छ त्यसलाई प्रयोग गर्ने यति कुराहरु गर्‍यौ‌ भने सचिवालयको तर्फबाट स्वास्थ्य मापदण्डका सबै प्रक्रियाहरु पुरा गर्नेगरी व्यवस्थापन मिलाएका छौँ। भित्रको त्यतिले मात्रै पर्याप्त हुँदैन, घर बाहिर अन्य गतिविधिमा जाँदापनि त्यत्तिकै सावधानि अपनाउनुपर्ने हुन्छ।’

अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सावधानि अपनाउन सकेको खण्डमा राष्ट्रिय सभाको यस अधिवेशनलाई स्वास्थ्यको कारण आउने बाधा बिना नै अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे। साथै उनले प्रतिनिधि सभा नभएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेश भएन भने सदन लामो समय लैजान नसकिने बताए।

उनले भने, ‘अहिले प्रतिनिधि सभा नभएको हुँदा बिलहरु तल गएर दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था त छैन। तरपनि सरकारी बिजनेस भएन भने हामीलाई लामो समयसम्म हाउस लानसक्ने अवस्था हुँदैन। जसले गर्दाखेरी जनताका आवाजहरु देश र जनताका जल्दाबल्दा समस्या, सरकारकै बारेमा पनि नागरिकका चासोहरु आफ्नो प्रतिनिधि मार्फत सदनमा व्यक्त हुने अवसर लामो समय पाउन सकिँदैन। छोटो हाउस भयो भने छोटो मात्रै व्यक्त हुन्छ। यसकारणले त्यस्ता विषयहरु जसलाई हामीले हाउसमा ल्याउँदाखेरी पनि सरकारलाई सहजता हुन्छ, ऐनहरु बन्ने प्रक्रियामा जान्छन् र अनि त्यसको माध्यमबाट जनताका कुराहरु माननीयले राख्न पाउने एउटा अवस्था बन्छ। त्यतातर्फपनि सरकारले पनि ध्यान दिनेछ। म सबैसँग यही बिनम्र आग्रह गर्न चाहान्छु।’

राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान भएको छ। प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad