ad ad

राजनीति


ओलीको ठाउँमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ: भारतका पूर्वराजदूत शरण

ओलीको ठाउँमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ: भारतका पूर्वराजदूत शरण

नेपालखबर
पुस १५, २०७७ बुधबार ७:२३,

नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराएर एक विवादरहित राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको बताएका छन्।

तर त्यसो गर्दा ओलीले पक्कै पनि त्यसको प्रतिवाद गर्ने निश्चित रहेको उनको बुझाइ छ।

‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ, हामीले हेर्दै जानुपर्ने हुन्छ,’ शरणले भारतीय पत्रिका ट्रिब्युन इन्डियामा लेखेका छन्।

उनले संसद विघटनको कदम फिर्ता लिन र नेतृत्व परिवर्तनका लागि ओलीमाथि दबाब दिइएको बताएका छन्।

तर यी सबै कुराहरु कसले गरिरहेको छ भन्ने कुरा भने उनले प्रष्ट्याएका छैनन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चीनको संरक्षण र प्रोत्साहनमा एकीकरण भएको बताउँदै उनले अहिलेको विभाजनबाट चीनलाई ठूलो धक्का पुगेको बताएका छन्।

पूर्वभारतीय राजदूत शरणले चिनियाँ राजदूत होउ यान्छीलाई एक्टिभिस्ट राजदूतको संज्ञा दिँदै अहिले उनले नेकपाका दुई पक्षलाई मिलाउनका लागि रेफ्रीको रुपमा भरमग्दूर प्रयास गरिरहेको बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा नेपालको चारदिने भ्रमणमा आएको टोलीलाई उनले नेकपा मिलाउन चीनले गरेको अन्तिम प्रयास बताएका छन्।
‘यसबाट पछिल्ला घट्नाक्रमप्रति चीनको चिन्ता कति छ भन्ने झल्किन्छ,’ उनले भनेका छन्।

नेकपा संकटको नतिजा अब जे भएपनि नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको पक्षलाई ठूलो नोक्सानी हुने उनको टिप्पणी छ।

पार्टीको संकट रोक्नका लागि गरिएको प्रतिनिधि सभा विघटनले नेपालको बहुदलीय व्यवस्थालाई क्षति पुर्‍याउने र एउटा गलत नजिर स्थापित गर्ने उनको भनाइ छ।

त्यसो त आफूलाई साथ नदिए ओली चीनको विपक्षमा उभिनसक्ने तर त्यसको अर्थ उनी रातारात भारतीय स्वार्थको पक्षमा हुनेछन् भन्न नसकिने बताएका छन्।

‘आफ्नो स्वार्थ पुरा हुने देखेमा कुनैपनि बेला ओलीले भारतविरोधी आगो दन्काउन लागि हाल्नेछन्,’ शरणले भनेका छन्, ‘अहिलेको संकटका कारण चीनलाई क्षति पुगेको हुनसक्छ तर यसको अर्थ भारतलाई कुनै लाभ भएको मान्न सकिँदैन।’

त्यसैगरी नेपालमा ओलीलाई समर्थन गर्नु वा दक्षिणपन्थी गठबन्धनलाई साथ दिनु दुवै गलत हुने उनको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .