ad ad

राजनीति


चिनियाँ उपमन्त्रीको टोलीले लिएन प्रहरी सुरक्षा, दर्जन प्रदर्शनकारी गिरफ्तार

चिनियाँ उपमन्त्रीको टोलीले लिएन प्रहरी सुरक्षा, दर्जन प्रदर्शनकारी गिरफ्तार

नेपालखबर
पुस १२, २०७७ आइतबार १६:२४,

आइतबार दिउँसो नेपाल आइपुगेको चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौंमा गोप्य रुपमा भेटवार्ता गरिरहेको छ।

एयर चाइनाको जहाजबाट करिब साढे १ बजे काठमाडौं उत्रिएको टोलीले विमानस्थलबाट बाहिरिँदा प्रहरीले उपलब्ध गराउन खोजेको सुरक्षा लिएन, भ्रमण तालिका समेत गोप्य राखिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली विमानस्थलबाट सिधै दूतावास पुगेको थियो। परराष्ट्र मन्त्रालय, चिनियाँ दूतावास र सुरक्षा निकायहरुले भ्रमण तालिका बारे कुनै जानकारी दिएका छैनन्।

‘हामीले सुरक्षाका लागि भेटवार्ताको तालिका र रुटका बारेमा चिनियाँ दूतावासका अधिकारीहरूसँग चासो राखेका थियौं, तर उहाँहरुले सुरक्षा आवश्यक पर्दैन भन्नुभयो, कार्यतालिका बारे पनि हामीलाई जानकारी दिनु भएन’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।

विमानस्थलबाट सिधै बालुवाटारस्थित दूतावास पुगेको चिनियाँ टोलीको नेपाल भ्रमणविरुद्ध आइतबार साँझ दूतावास नजिकै भाटभटेनी चोकमा प्रदर्शनमा उत्रिएका केही व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

‘काठमाडौंको भाटभटेनी चोकमा दिउँसो करिब साढे ५ बजे प्रदर्शनमा उत्रिएका विनय यादवसहितका एक दर्जन जतिलाई पक्राउ गरि मालिगाउँ प्रहरी वृत्तमा लगिएको छ’, एक प्रहरी अधिकारीले भने, ‘उनीहरूले आफुहरू राष्ट्रिय एकता अभियानमा आवद्ध रहेको बताएका छन्।’

विमानस्थलबाट अनौपचारिक रुपमा बाहिरिएको चिनियाँ टोलीका सदस्यहरूले पीपीई र मास्क प्रयोग गरेका थिए। विमानस्थलमा चिनियाँ दूतावासका कर्मचारी स्वागत गर्न पुगेका थिए, तिनै कर्मचारीको साथमा टोली सिधै दूतावास पुगेको थियो। त्यसपछि पनि दूतावास मार्फत नै चिनियाँ टोलीले आफ्ना गतिविधि गरिरहेको छ, जसलाई गोप्य राख्न खोजिएको छ।

राष्ट्रपति कार्यालयका अधिकारी र सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार चिनियाँ उपमन्त्रीसहितको टोली अपरान्ह ४ बजेर ४८ मिनेटमा शीतल निवास प्रवेश गरेको थियो, जहाँ उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब एक घण्टा भेटवार्ता गरेका थिए।

प्रतिनिधि सभा विघटन र नेकपा विभाजनपछि परिस्थिति बुझ्न चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देशसहित उपमन्त्री नेतृत्वको टोली काठमाडौं आएको हो। चिनियाँ टोलीले नेकपाको विवादबाट थप क्षति नहोस् भनेर सहजीकरण गर्ने बुझिएको छ।

चिनियाँ टोलीले सोमबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .