प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल लगायत राजनीतिक वृत्तमा फेरि एउटा संशय सिर्जना गरेको छ।
प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद्को बैठक डाकेको खबर सार्वजनिक भएलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उनी पक्षीय नेताहरुले ‘प्रधानमन्त्रीबाट फेरि के हुन लाग्यो’ भनी मन्त्री लगायत नेताहरुसँग सोधखोज गरेका थिए।
संवैधानिक आयोगहरुमा सहमतिका आधारमा नियुक्ति गर्ने, सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने भनी प्रधानमन्त्री ओलीले बुधबार पार्टीका अन्य नेताहरुसँग प्रतिबद्धता व्यक्त गरेको भोलिपल्टै संवैधानिक परिषद् बैठक बोलाएपछि नेताहरु झस्किएका हुन्।
त्यसपछि बुधबार नेताहरुबीच सहमति जुटाउन सक्रिय रहेका मन्त्री तथा दोस्रो तहका नेताहरुबीच संवैधानिक परिषद् बैठक बस्न लागेकोबारे कुराकानी भएको थियो।
प्रचण्ड र माधव नेपाल पक्षका मन्त्री र दोस्रो तहका नेताहरुले अर्थमन्त्री बिष्णु पौडेल, स्थायी समिति सदस्यहरु सुवास नेम्वाङ र शंकर पोखरेल लगायत ओलीनिकट नेताहरुसँग त्यसबारे बुझेका थिए।
‘प्रधानमन्त्रीले अस्तिकै बैठकमा आज बस्ने भनी सहमति भएका कारण वा अरु कुनै प्रक्रियागत कारणले राख्नु भएको होला, तर बैठकबाट कुनै औपचारिक निर्णय हुँदैन, ढुक्क भएहुन्छ,’ ओलीनिकट नेताहरुले प्रचण्ड–नेपाल पक्षीय नेताहरुलाई बताएको भनाइ उद्धृत गर्दै एक नेताले भने।
त्यसपछि उनीहरुले पौडेल, नेम्वाङ र पोखरेल तीनैजनासँग कुरा गरेका थिए। ‘तीनै जनाबाट एउटै कुरा आएको छ– बैठकबाट कुनै निर्णय हुँदैन,’ ती नेताले भने।
यो पनि :
- प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद्को बैठक
- साँझ ६ बजे मन्त्रिपरिषद बैठक, अध्यादेश फिर्ताको निर्णय हुनसक्ने
Shares

प्रतिक्रिया