सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई एउटा हाइड्रोको विवादसँग जोडेर फैलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले कमानसिंह लामा र हाइड्रो पावरको सेयर विवादमा प्रवक्ता श्रेष्ठलाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन्।
प्रचण्डले सम्बन्धित हाइड्रो व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र श्रेष्ठले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि श्रेष्ठले बताए।
‘अध्यक्ष प्रचण्डले कमानसिंह लामा र एउटा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्नु गएको छ’, बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले भने।
आज बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको उनले जानकारी दिए।
याे पनि : शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी समिति स्थगित, अर्को बैठक पुस १ गते
प्रतिक्रिया