राजनीति


महाधिवेशनको मिति सार्ने तयारीमा कांग्रेस

महाधिवेशनको मिति सार्ने तयारीमा कांग्रेस

भीष्मराज ओझा
मंसिर २५, २०७७ बिहिबार १२:०,

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ।

कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो।

कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ। पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ।

सोही कारण यही मंसिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ। कांग्रेसको विधानअनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ। कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो। कांग्रेसले कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ।

नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ। साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधापर्ने छैन् भनी उल्लेख छ।

कांग्रेस सहमहान्त्री डा प्रकाशशरण महतले पनि फागुनमा महाधिवेशन गर्न कठिन देखिएको उल्लेख गर्दै भने, ‘मंसिरभित्र क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने भनेको हो, केही ठाउँबाट त आउला, तर सबै ठाउँमा सम्पन्न हुन कठिन देखिरहेको छु।’ उनले मंसिरसम्ममा क्रियाशील सदस्यताको विवरण आएपछि केन्द्रीय समिति बैठकमा समीक्षा हुने र फागुनमा महाधिवेशन हुने नहुने सम्बन्धमा निर्णय गरिने बताए।

महाविधेशन कार्यतालिकाअनुसार कांग्रेसले गत साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजना गरिसक्नुपर्ने र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची मंसिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो। दुवै कार्यको निर्धारित मिति प्रभावित भइसकेको छ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले हालसम्म कुनै पनि जिल्लाको क्रियाशील सदस्यता विवरण केन्द्रमा आइनसकेकाले आगामी फागुनमा महाधिवशेन सम्भव नभएको बताए। फागुनमा महाधिवेशन गर्न पुसमा जिल्ला अधिवेशन सक्नुपर्ने बताउँदै उनले महाधिवेशन मिति संशोधन गर्ने सम्बन्धमा केन्द्रीय समितिको आगामी बैठकमा छलफल हुने जानकारी दिए।

उनले भने, ‘सभापतिलाई महाधिवेशन छिटो गर्नुस् भनेका छौं, आगामी वर्षायाम अघि नै टुङ्ग्याउनुपर्छ।’ हालको महाधिवेशन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी पुस ६ गते, गाउँ÷नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्छ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हुन्छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरु निर्धारित समयमै महाविधेशन गराउन पहल गरिरहेको उल्लेख गर्दै क्रियाशील सदस्यताको कामले ढिला गराउन लागेको आरोप लगाए। साथै उनले जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता कार्य सम्पन्न गरेर चाँडै विवरण पठाउन भनिरहेको र सो विवरण आएपछि थप निर्णय हुने जानकारी दिए।

कांंग्रेसले महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको भए पनि हालसम्म कुनै पनि जिल्लाबाट विवरण नआएको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। गत कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मंसिर २ गते निर्देशन गरिएको थियो।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता संख्या हाल करिब पाँच लाख छन्। केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो संख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ। क्रियाशीय सदस्यता नवीकरणका लागि रु २०० र नयाँका लागि रु ३०० शुल्क निर्धारण गरिएको छ।

यसैगरी पार्टीको जिल्ला समायोजन कार्य सप्तरी, बारा र सिन्धुपाल्चोकमा अझै बाँकी रहेको बताउँदै सचिव रिजालले समायोजन कार्य केही दिनमै सकिने जानकारी दिए। कांग्रेसमा गाभिएका विभिन्न राजनीतिक दलको समायोजन पनि अझै बाँकी छ। त्यस्ता दलसँगको क्रियाशील सदस्यता र सांगठनिक पद समायोजनको काम अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad