ad ad

राजनीति


नेपालसँग वार्ता अघि बढाउनुको कारण, एमसीसी र चीनबारे यसो भन्छन् भारतीय विदेशमन्त्री जयशंकर

नेपालसँग वार्ता अघि बढाउनुको कारण, एमसीसी र चीनबारे यसो भन्छन् भारतीय विदेशमन्त्री जयशंकर

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ४:१४,

भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा केहि समस्याहरु देखिएको भए पनि पछिल्लो समय नेपाल र भारतले द्विपक्षीय सम्बन्धलाई अघि बढाउने निर्णय गरेको बताएका छन्।

भारतीय अखबार द हिन्दूलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले सम्बन्ध अघि बढाउने विषय पारस्परिकरुपमा भएको बताएका छन्।

‘जहाँसम्म नेपालकेन्द्रित प्रश्न छ, त्यसबारे म के भन्न चाहन्छु भने विगतमा हामीबीच केहि मुद्दाहरु थिए, तर पछिल्ला केही साता भारत र नेपालले (अघि बढ्ने) निर्णय गरेका छौं र यो पारस्परिकरुपमा भएको हो,’ जयशंकरले प्रष्ट्याएका छन्।

सो पत्रिकाका लागि सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा नेपाल र भारतबीच संविधानको विषयमा मनमुटावपूर्ण सम्बन्ध रहेको र यसै वर्ष नेपालले नक्सा जारी गर्दा भारतकाे भूभाग समेत पारेको दाबी गर्दै भारतले विरोध गरेको कुरा नसुल्झिँदै भारतीय अधिकारीहरु नेपाल भ्रमणमा गइरहेको देखिन्छ नि भनी सोधिएको प्रश्नमा उनले सो उत्तर दिएका हुन्।

नेपाल आफ्नो अडानमा अडिग नै रहिरहेका बेला भारत भने आफ्नो धारणामा दृढ रहन नसकेको हो की भन्ने प्रश्न समेत उनलाई गरिएको छ।

‘मैले भनिहालें, एउटा मात्रै घटना मूल्यांकनको मापदण्ड हुनसक्दैन। समस्याहरु हुन्छन्। एकअर्काबीच समस्या नै नभएका दुई छिमेकी मुलुक कहाँ छन् र? आज हाम्रा अधिकांश छिमेकी देश लोकतान्त्रिक छन्। यसको अर्थ, उनीहरुको आफ्नो राजनीति छ र हाम्रो पनि आफ्नो राजनीति छ। यसमा मुद्दाहरु आउँछन्,’ जयशंकरले भनेका छन्, ‘मुख्य कुरा भनेको हामी त्यस्ता विषयलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो। कसरी सहमतिका बिन्दु भेट्छौं, बिबादका विषयलाई कसरी गम्भीर बन्न दिँदैनाैं भन्ने हो।’

जयशंकरले बिबादहरु समाधान गर्नका लागि समय लाग्नसक्ने बताएका छन्। उनले छिमेकी देशहरुमा पनि धेरै परिवर्तन आएको बताएका छन्।

उनलाई अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे पनि प्रश्न सोधिएको थियो।

अमेरिकाले दक्षिण एसियामा आफ्ना धेरै कार्यक्रमहरु अघि बढाउँदा पनि भारतले भने सबैलाई समेट्ने नाममा त्यसप्रति किन कुनै आपत्ति नजनाएको भन्ने प्रश्न समेत गरिएको छ।

‘अमेरिकाले मिलेनियम च्यालेन्ज प्रोग्राममार्फत् नेपाल र श्रीलंकामा निकै कामहरु गर्न लागेको छ, भारतले त यसबाट आफूलाई सहयोग पुग्ने रुपमा लिएको देखिन्छ, यो क्षेत्रमा चीन ठूलो शक्तिका रुपमा उदाएका कारण त्यसो गरिएको हो?’ उनलाई सोधिएको छ।

जवाफमा जयशंकरले परिस्थिति ठ्याक्कै त्यस्तो नभएको बताएका छन्।

विगतमा अमेरिकाले भारतप्रति निकै दुश्मनीपूर्ण व्यवहार गर्दाको प्रसंग र अहिलेको अवस्था फरक भएको उनको भनाइ छ।

‘अमेरिका, चीन र पाकिस्तान एकजुट हुँदा हामीलाई सबैभन्दा ठूलो रणनीतिक चुनौति सिर्जना भएको थियो,’ उनले भनेका छन्, ‘अमेरिका हाम्राविरुद्ध रणनीतिक रुपमा नकारात्मक ढंगबाट उभियो भने त्यतिबेला मेरो प्रतिक्रिया अर्कै हुन्छ तर अमेरिका हाम्राविरुद्ध रणनीतिक रुपमा नकारात्मक नहुँदासम्म मेरो मूल्यांकन फेरि फरक हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .