ad ad

राजनीति


मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ९:२६,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताएकी छन्।

स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि सफलता प्राप्त हुँदै गएको र सो कुरा कार्यालयबाट हुने सेवाप्रवाहबाट पुष्टि हुँदै गएको जिकिर गरिन्।

‘सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक छ’, मन्त्री अर्यालले भनिन्, ‘नयाँनयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीमैत्री बनाउँदै लगिएकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीले सहजै सेवा लिन सक्नुहुनेछ।’

देशभर हाल १३१ मालपोत र नापी कार्यालय छन्। ती कार्यालयलाई नमूनाका रुपमा अगाडि बढाउँदै लैजाने मन्त्री अर्यालले बताइन्।

‘प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका रुपमा रहेको छ’, मन्त्री अर्यालले भनिन्, ‘जनशक्तिलाई आवश्यक तालीम तथा प्रशिक्षण प्रदान गरी अगाडि बढ्छौँ जसले गर्दा सेवा प्रवाह थप प्रभावकारी हुनेछ।’

कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झट रहेकाले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालको भनाइ थियो।

सो अवसरमा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त र सेवाग्राहीमैत्री भएर अगाडि बढाउनुपर्नेमा जोड दिए।

सो अवसरमा जिल्ला समन्वय प्रमुख सीताकुमारी सुन्दास, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए।

विसं २०७५ असार ८ मा आशिष, सिद्धबाबा जेभीसँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएकामा कोभिड– १९ का कारण पाँच महीना थप गरिएको मालपोत कार्यालयका प्रमुख रवीन अधिकारीले बताए।

भवन कूल रु पाँच करोड छ लाख दुई हजार ३८४ को लागतमा निर्माण भएको हो। सो अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .