राजनीति


भारतीय बाँधका कारण तराई डुबेको संसदीय समितिको निष्कर्ष

भारतीय बाँधका कारण तराई डुबेको संसदीय समितिको निष्कर्ष

नेपालखबर
साउन १३, २०७६ सोमबार ८:४७,

संसदीय समितिले छिमेकी मुलुक भारतबाट एकतर्फी रुपमा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्ष निकालेको छ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा भारतद्वारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनमा चुरेमा भएको जथाभावी दोहन र विनाशका कारण पनि तराईका जिल्लाहरु डुबानमा पर्ने गरेको उल्लेख गरिएको समितिकी उपसचिव बबिता मिश्रले जानकारी दिइन्। सोमबार समितिको बैठकमा पेश गरिएको सो अध्ययन प्रतिवेदनले नदीनालाको बाँध, सडकको कल्भर्टहरुको निर्माण परिपक्व नभएका कारण पनि तराईमा डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परेको पनि स्पष्ट पारिएको छ। नदीनाला र खोलाको ढुंगा, गिटी र बालुवाको वैज्ञानिक रुपमा उत्खनन् नभएका कारण पनि बाढी र डुबानको समस्या बढेर गएको निष्कर्ष पनि समितिमा उल्लेख गरिएको समितिकी उपसचिव मिश्रले बताइन्।

प्रतिवेदनले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ। त्यसैगरी क्षति भएका घरजग्गा तथा सम्पत्तिको बस्तुगत र यथार्थ विवरण तयार गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव पनि प्रतिवदेनमा उल्लेख गरिएको समितिकी उपसचिव मिश्रले बताइन्। प्रतिवेदनमा अझै पनि बाढी, पहिरो र डुबानको समस्या रहेको उल्लेख गर्दै त्यसका लागि उद्धार टोलीको उचित व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने भनिएको छ।

संसदीय समितिले प्रभावित जिल्लाहरुमा पुगेर तयार पारेको सो स्थलगत अध्ययन प्रतिवेदनमा तराईको डुबान समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्ष निकालिएको छ। समितिमा पेश गरिएको सो स्थलगत अध्ययन प्रतिवेदन अध्ययन गरी समितिका सदस्यहरुले थप सुझाव दिएपछि सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

समितिका सदस्यहरुले सो प्रतिवेदनमाथि मंगलबारसम्म सुझाव दिने र त्यसैको आधारमा सो प्रतिवेदनलाई पूर्णता दिई सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ। समितिले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल राहतको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad