कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने भएको छ।
पार्टीको सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने ‘गाऊँ फर्क’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने गाउँ फर्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए। बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
सो कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ। आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ।
बैठकमा अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुट्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रीय कार्य समितिले तय गरेको थियो। सोही कार्य योजनालाई कार्यान्वयनमा लैजान केन्द्रीय कार्य सम्पादन समिति बैठकले ‘गाउँ फर्क’ सहितको अभियान देशभर सञ्चालन गर्ने निर्णय गरिएको पनि प्रवक्ता पाठकले बताए।

प्रतिक्रिया