अमेरिकी राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितेपछि चीनले ढिलागरी बधाई दिएको छ।
बाइडेन र कमला ह्यारिसले विजय मन्तव्य दिएको करिब एक सातापछि चीनले बधाई दिएको हो।
विश्वका अरु प्रमुख मुलुकले भने यसअघि नै उनीहरुलाई बधाई दिइसकेका छन्। कतिपय मुलुकका नेताहरुले सञ्चारमाध्यमले बाइडेनको जित प्रक्षेपण गर्नेबित्तिकै बधाई दिएका थिए।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले ‘अमेरिकी जनताको रोजाइलाई सम्मान गर्ने’ बताए।
‘हामी बाइडेन र ह्यारिसलाई बधाई दिन्छौँ। सँगसँगै हामीलाई के पनि थाहा छ भने अमेरिकी निर्वाचनको नतिजा अमेरिकी कानुन र प्रक्रियाअनुसार तय हुन्छ,’ उनले भने।
चार दिनअघि यसै विषयमा गरिएको प्रश्नलाई वेनबिनले छलेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार नगरेका कारण बधाई दिन चाहने मुलुकहरुलाई पनि अप्ठेरो परेको छ।
दर्जनौँ मुलुकले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको बधाई सन्देश ट्रम्पले रोकिदिएका छन्। एजेन्सी

प्रतिक्रिया