रुसी मध्यस्थतामा अजरबैजानसँग गरिएको शान्ति सम्झौताको विपक्षमा आर्मिनियाका प्रदर्शनकारीहरुले संसदभित्रै घुसेर सरकारको विरोध गरेका हुन्।
हाल जारी द्वन्द्वलाई समाप्त गर्नका लागि रुसी र अजरबैजानका अधिकारीसँग आर्मिनियाका प्रधानमन्त्री निकोल पासिनयानले शान्ति सम्झौतामा सोमबार राति हस्ताक्षर गरेका थिए।
विवादित नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयमा विगत ६ हप्तायता अजरबैजानसँग आर्मेनियाको युद्ध जारी थियो। यस युद्धका क्रममा हजारौं सर्वसाधारण तथा दुवै तर्फका सेनाको ज्यान गएको छ।
सम्झौताअनुसार अजरबैजानले युद्धका क्रममा नियन्त्रणमा लिएको नागोर्नो–काराबाखको केही क्षेत्रमा अजरबैजानकै स्वामित्व हुनेछ।
सोमबर राति रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सम्झौतामा हस्ताक्षर भएपछि रुसका झन्डै २ हजार शान्ति सेना विवादित नागोर्नो–काराबाख क्षेत्रमा पठाएको बताएका थिए।
(भिडियो)
प्रधानमन्त्री पासिनयानले सम्झौतामा हस्ताक्षर गरेपछि सम्झौता देशवासी र आफ्नो लागि पिडादायी भएको तर शान्ति स्थापना गर्न सम्झौता गरेको बताएका थिए।
तर आफ्नो भूमि अजरबैजानलाई सुम्पिएको भन्दै यतिबेला प्रदर्शनकारीले प्रधानमन्त्ती पासिनयानको निवासमा तोडफोड गरेका छन्। प्रधानमन्त्रीले आफूहरुलाई धोका दिएको भन्दै यतिबेला उनीविरुद्ध नारा र जुलुस निस्किएको छ।
प्रदर्शनकारीले संसदभित्रै गएर विरोध गरेका भिडियो फुटेजहरु सार्वजनिक भएका छन्। संसदका सभामुख अरारत मिर्जोयानलाई प्रदर्शनकारीले बेहोस भइन्जेल कुटपिट गरेको पनि द गार्जियनले जनाएको छ।
यो पनिः रुसले आर्मिनिया र अजरबैजानबीच नागोर्नो–काराबाखको विषयमा सम्झौता गरायो

प्रतिक्रिया