राजनीति


सरकारलाई चुनौती दिँदै साझा पार्टीले बुधबार खुलामञ्चमा खाना खुवाउने

सरकारलाई चुनौती दिँदै साझा पार्टीले बुधबार खुलामञ्चमा खाना खुवाउने

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ९:१८,

साझा पार्टी नेपालले बुधबार बिहान र बेलुका रोजगारविहीन असहायहरूलाई खुलामञ्चमा खाना खुवाउने भएको छ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै साझा पार्टीले खुलामञ्चमा विपन्न, असाहय र रोजगारविहीनलाई खाना खुवाउन रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णयको विरोध गरेको छ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकारनै उनीहरूको हेरचाह गर्नुपर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको खाना खुवाउने कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझाले बताएको छ।

साझाले सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा पार्टीका तर्फबाट खाना खुवाउने र त्यसको खर्च पार्टी सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साझाले शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई रोक्न चुनौती समेत दिएको छ।

‘भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्’, विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

साझाले महानगरका उक्त निर्णय तरुन्त फिर्ता लिन आग्रह गर्दै कोरोनाको कहर रहुन्जेल श्रमिक तथा असाहयलाई काम र मामको व्यवस्था गर्न समेत माग गरिएको छ।

‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’, विद्दप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad