कारोबार


तातोपानी नाका सञ्चालनमा आएपनि पर्याप्त सामग्री आएन, व्यवसायी मारमा

तातोपानी नाका सञ्चालनमा आएपनि पर्याप्त सामग्री आएन, व्यवसायी मारमा

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ९:१७,

पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत विहीबारबाट पुनः सुचारु भएको छ। तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन्।

चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन्।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ। नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा सामान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ।

एक चिनियाँ कन्टेनर सामानले नेपाल तर्फको २ देखि ३ कन्टेनर सामान भरिन्छ। यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचास भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन्। तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो।

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताए। समान ढिलो आउँदा स्याउ लगाएतका खाद्य सामाग्री कुहीन थालेकोले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताए।

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन्। भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए।

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ। यही गतिमा सामान आउने हो भने अहिले व्यापारीहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।

यद्यपी स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उनले बताए। उनले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताए।

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए। नाका पूर्ण रुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसर समेत वृद्धि हुने भएकोले छिटो भन्दा छिटो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad