राजनीति


जापानबाट ५ वर्षपछि उच्चस्तरीय भ्रमण, यी हुन् सम्बन्धका नयाँनयाँ आयाम

जापानबाट ५ वर्षपछि उच्चस्तरीय भ्रमण, यी हुन् सम्बन्धका नयाँनयाँ आयाम

सन् १९५६ सेम्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापनासँगै यो सम्बन्ध औपचारिक बनेको हो (तस्बिर : सरोज बैजु)


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १३:३०, काठमाडौँ

जापानका विदेशमन्त्री कामिकावा योको नेपाल आइपुगेकी छन्। उनी आइतबार मध्यान्ह उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा औपचारिक भ्रमणमा आएकी हुन्। 

उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन्।

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। 

विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापानका लागि प्रस्थान गर्नेछन्।
    
विश्वमा विकसित र समृद्ध एसियाली मुलुकका रूपमा स्थापित जापानसँगको नेपालको सम्बन्ध अठारौं शताब्दीको अन्त्यतिर सुरु भएको हो। सन् १९५६ सेम्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापनासँगै यो सम्बन्ध औपचारिक बनेको हो।

कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियो भने जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध निरन्तर मित्रता, सद्भावना र सहयोगले चिनिएको छ। जापान नेपालको लामो समयदेखिको मित्रराष्ट्र र प्रमुख विकास साझेदार हो।
 
दुवै देशले सन् २०१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक जयन्ती विभिन्न कार्यक्रम आयोजनाका साथ उच्चस्तरीय भ्रमण आदानप्रदान गरी मनाएका थिए। जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको बताए। उनका अनुसार जनस्तरमा बढ्दो संलग्नताले यी सम्बन्धलाई थप विस्तार गर्न योगदान दिएको छ।


 
नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध 
जापानी बौद्ध भिक्षु रेभ एकाई कावागुची पहिलोपटक सन् १८९९ मा तिब्बत जाने क्रममा पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा नेपाल आएका थिए। 

उनले नेपाललाई चिनाउने र लुम्बिनीको महत्त्व जापानी जनतालाई आफ्ना लेख र प्रकाशनमार्फत उजागर गरेका थिए। यसैगरी नेपालमा राणा शासनकालमा सन् १९०२ देखि १९०५ सम्ममा ८ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए, जसले गर्दा नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक हुन थालेका थिए।
 
त्यस्तै पछिल्लो समय तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखि ५ सम्म जापानको औपचारिक भ्रमण गरेका थिए। 

तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पनि सन् २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरेका थिए। 

त्यसैगरी जापानका तर्फबाट पछिल्लो समय विदेशमन्त्री तारो कोनोले सन् २०१९ जनवरी ९ र १० मा नेपालको भ्रमण गरेका थिए।
 
जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ। नेपाली समुदाय जापानमा छैटौँ ठूलो विदेशी समुदाय हो।

हरेक वर्ष हजारौँ नेपाली विद्यार्थी उच्च शिक्षा र जापानी भाषा अध्ययन गर्न जापान जाने गर्छन्। नेपाली विद्यार्थीको विदेश अध्ययनका लागि जापान दोस्रो सबैभन्दा मनपर्ने गन्तव्य हो। हाल जापानमा एक लाख ७०  हजारभन्दा बढी  नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ।
 
नेपाल जापानी पर्यटकका लागि आकर्षक गन्तव्य पनि हो। लुम्बिनी, हिमालय, सदियौं पुरानो परम्परा र सांस्कृतिक कलाकृति, मन्दिर र नेपाली जनताको मिलनसार शैली जापानी पर्यटकका लागि आकर्षणका केन्द्र हुन्। सन् २०१५ सेप्टेम्बरमा दुई प्रख्यात युनेस्को विश्व सम्पदा स्थल लुम्बिनी र जापानको कोयासानबीच भगिनी सहरको सम्बन्ध स्थापित भएको थियो।


 
द्विपक्षीय संयन्त्रले सहयोगमा योगदान 
नेपाल र जापानका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ। संयन्त्रले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्ने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका बारेमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ। संयन्त्रको पहिलो र दोस्रो बैठक मार्च २०१५ र जुन २०१६ मा क्रमशः टोकियो र काठमाडौँमा भएको थियो।

त्यस्तै जापानका विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र जापान सरकारबीच सन् २०१९ जनवरी ९ मा काठमाडौँमा द्विपक्षीय परामर्श गर्ने समझदारीमा हस्ताक्षर भएको थियो।
 
नेपाल र जापानबीच विद्यमान आर्थिक तथा प्राविधिक सहयोगलाई थप सुदृढ र सुदृढ बनाउने उद्देश्यले दुई देशले सन् २००३ सेम्टेम्बर ३ मा प्राविधिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। नेपाल र जापानबीच सन् १९९३ फेब्रअरी १७ मा हवाई सेवा सम्झौता (एएसए) मा हस्ताक्षर भएको थियो।
 
यसैगरी नेपाल सरकारको श्रम तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिटको) सँग जापानमा नेपाली औद्योगिक श्रमिकलाई तालिम दिने सम्बन्धमा सन् २००३ डिसेम्बर ३ मा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

जापानको परिमार्जित अध्यागमन ऐनअनुसार जापान सरकारले नेपाललाई श्रम बजारको स्रोत देशको रुपमा समावेश गरेको छ। नेपाल र जापानले आपसी सरोकारका विषयमा नजिकबाट काम गर्दै आएका छन्। संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय मञ्चहरूमा एकअर्कालाई आफ्नो क्षमताले सक्दो सहयोग गर्दै आएका छन्।


 
आर्थिक सहयोग तथा व्यापार र लगानी बढ्दो
जापानले सन् १९५४ देखि नै नेपालको सामाजिक–आर्थिक विकासमा योगदान गर्दै आएको छ। जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगको रूपमा सहयोग गर्दै आएको छ।

जापानले नेपालको शान्ति र लोकतन्त्रको प्रवर्धनमा पनि सहयोग गर्दै आएको छ। जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्छन्।
 
जापानले नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउँदै आएको छ। यस योजनाअन्तर्गत तनहुँ जलविद्युत आयोजना, नागढुङ्गा सुरुङमार्ग, खानेपानी सुधारलगायतका आयोजना सञ्चालित छन्।
 
मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडीएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ। जापान सरकारले कोलम्बो योजनामा सामेल भएदेखि सन् १९५४ नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम दिन थालेको हो। नेपालमा सन् २०१५ को भूकम्पपछि जापान सरकार र जनताले स्वस्फूर्त सहयोग गरेका थिए। जापान सरकारले नेपालको पुनःनिर्माणका लागि रु २६ अर्ब अनुदान दिने घोषणा गरेको थियो।
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जापानी विदेशमन्त्रीको भम्रणका अवसरमा नेपालका लगानी सम्भावित क्षेत्र जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायतमा जापानको लगानी आर्कषित गर्न थप पहल गर्नुपर्ने सुझाव दिए। 

साथै उनले काम र अध्ययनका लागि नेपाली विद्यार्थी जापान गइरहेको सन्दर्भमा जापानमा हाल वृद्ध जनसंख्या धेरै भएकाल दक्ष जनशक्ति पठाउन सके थप लाभ हुने धारणा समेत व्यक्त गरे। जापान नेपालको एक महत्वपूर्ण व्यापारिक साझेदार हो।
 
नेपालबाट जापानतर्फ हुने प्रमुख निर्यातमा पस्मिना उत्पादन, तयारी पोशाक, ऊनीका सामान, गलैँचा, हस्तकला, नेपाली कागज र कागजका सामान, छालाका सामान, चाँदीका सामान र गरगहना छन्।

त्यसैगरी जापानबाट नेपालको प्रमुख आयातमा सवारी साधन तथा पार्टपुर्जा, इलेक्ट्रोनिक सामान, मेसिनरी तथा उपकरण, फलाम तथा स्टिलका उत्पादन, फोटोग्राफिक सामान, चिकित्सा उपकरण र कपडा पर्दछन्। जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रमुख स्रोत देश हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .