राजनीति


नेकपा नेता भन्छन्: ओली नै पार्टी फुटाउन लागिपरेपछि अरु चुप बस्ने कुरै छैन

नेकपा नेता भन्छन्: ओली नै पार्टी फुटाउन लागिपरेपछि अरु चुप बस्ने कुरै छैन

सागर न्यौपाने
कात्तिक १६, २०७७ आइतबार १६:०,

केही दिनदेखि पार्टीभित्र चर्किंदै गएको विवादका कारण नेकपा फेरि फुटको संघारमा पुगेको दुवै अध्यक्षनिकट नेताहरुले बताएका छन्। सम्भावित फुटलाई रोक्न भन्दै नेताहरुले दौडधुप बढाएका छन्। 

तर, प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी फुटाउन लागिपरेपछि अरु नेताहरु पनि चुप लागेर नबस्ने ओलीइतरका नेताहरुले बताए।

शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अब सँगै जान नसकिने अवस्थामा पुगेको बताएका थिए।

आइतबार दिनभर ओली र प्रचण्डले दुवैले आफूनिकट नेताहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र केही आफू निकटका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। त्यसपछि उनले महासचिव विष्णु पौडेलसँग पनि दोस्रो चरणमा छलफल गरेका थिए।

उता शनिबार प्रधानमन्त्री ओलीसँगको छलफलको विषयमा कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापालगायतलाई आइतबार बिहान खुमलटार बोलाएर ब्रिफिङ गरेका थिए।

त्यसपछि दिनभर प्रचण्ड—नेपालले आफू निकटका स्थायी समिति सदस्य र प्रदेशका पदाधिकारीसँग आन्तरिक राजनीतिको पछिल्लो परिस्थितिको विषयमा छलफल गरे। उनीहरुले बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश नम्बर १, गण्डकी प्रदेशका आफूनिकट पदाधिकारी र प्रदेश सांसदसँग छलफल गरेको स्रोतले जनाएको छ।

आइतबार नै पार्टी एकता गम्भीर संकटमा परेको बताएका महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। उनी डेढ घण्टा खुमलटार बसेका थिए।

वैशाखदेखि जारी विवादको अन्त्य गरेर भदौ २६ गते बसेको स्थायी समिति बैठकपछि नेकपाको विवाद समाधान भएको बताइएको थियो। तर, असोज अन्तिममा प्रचण्ड निकट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा ल्याइएको अविश्वासको प्रस्तावपछि नेकपामा फेरि किचलो सुरु भएको थियो। सोही प्रस्तावले ओली र प्रचण्डबीच सम्बन्ध बिगारेको र पार्टी एकता नै गम्भीर मोडमा पुर्‍याएको नेताहरु बताउँछन्।

यो पनिः यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

‘फुटको सुरुवात अध्यक्ष ओलीबाटै भएको छ,’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने, ‘उहाँले एकलौटी रुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन चालेको कदम असफल भएपछि पछिल्लो दिन संकटमा पर्नुभएको हो।’

ती नेताले भदौ २६ पछि ओलीका कदम हेर्दा ती सबै फुटलाई सहयोग पुर्‍याउने खालको रहेको दाबी गरे।

‘प्रधानमन्त्रीको स्टेप प्रष्ट देखियो, विभाजन गर्ने, एकलौटी गर्ने,’ ती नेताले थपे, ‘त्यसमा अवरोध भयो भने फुटाउने उहाँको रणनीति रहेछ।’

प्रधानमन्त्री ओली पार्टी फुटाउन लागिपरेपछि अब अन्य नेताहरु चुप लागेर नबस्ने वरिष्ठ नेता नेपालनिकट एक नेताले दाबी गरे।

‘पार्टी र संगठनको कुरा नमान्ने, कमिटी निर्णय समेत नमान्ने उहाँको कदमले पार्टीभित्रको बाटो फरकफरक रहेको देखाइसक्यो,’ ती नेताले भने, ‘उहाँ आफैँ लाइन क्लियर भएको कुरा बताउँदै हिँड्नुभएको छ। त्यो भनेको उहाँ पार्टी एकतामा संकट ल्याउने योजनामा हुनुहुन्छ। यस्तो भएपछि अरु नेताहरु पनि चुप लागेर बस्ने कुरा भएन। ’

पार्टीभित्र विभाजन रोक्न प्रचण्ड–नेपालले हदैसम्मको प्रयास गरेपनि नसकेको प्रचण्डनिकट नेताले बताए।

‘उहाँहरुले धेरै रोक्नुभएको हो कर्णालीमा। प्रधानमन्त्रीले कर्णालीका मुख्यमन्त्री हटाउने योजना अघि सार्नेबित्तिकै हामीले पनि बागमती, प्रदेश १ र प्रदेश ५ मा मुख्यमन्त्री हटाउने योजना बनाउन सक्नुहुन्थ्यो,’ उनले भने, ‘तर, प्रचण्ड–नेपालले फुटलाई सहयोग गर्ने काम गर्नुभएन।’

तर, प्रधानमन्त्री ओलीनिकट स्थायी समिति सदस्य सुवास नेम्वाङ भने शनिबार दुई अध्यक्षबीच पुनः छलफलको सहमति भएको बताउँछन्।

‘दुई अध्यक्षबीच शनिबार भएको भेटमा सबै विषयमा कुरा भयो, छलफललाई निरन्तरता दिने भन्दै फेरि भेट्ने भनेर उहाँहरु उठ्नुभएको थियो,’ नेम्वाङले भने, ‘त्यसका लागि फेरि बस्ने भन्ने भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .