राजनीति


प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन : भूमिगत समूह सक्रिय हुन थाले, निस्तेज पार्नुहोस्

प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन : भूमिगत समूह सक्रिय हुन थाले, निस्तेज पार्नुहोस्

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ५:१४,

संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

६५ औं प्रहरी दिवशको अवसरमा शुक्रबार हेडक्वाटरमा सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको बताएका हुन्।

यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिए।

‘अपराध र अपराधीको विषयमा मभन्दा यहाँहरु नै धेरै जानकार र व्यवसायिक हुनुहुन्छ। तसर्थ अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नुस्, यहाँहरुलाई मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराइने वचन दिन चाहन्छु’, गृहमन्त्री थापाले भने।

नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो गर्दै गृहमन्त्री बादलले प्रहरीलाई तेजबधभन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण आवश्यक रहेको बताए।

‘दोष जति अरुलाई थुपार्ने र सदैव नकारात्मक, आलोचनात्मक सोचबाट मात्र निर्देशित सामाजिक परिवेशमा नेपाल प्रहरीका सकल दर्जाले जुन निर्भिकता र दृढताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्, त्यो प्रशंसनीय छ’, गृहमन्त्री थापाले भने, ‘नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने हाम्रो समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न किन कन्जुस्याई गर्छ?’

अपराधको घटना घट्दा हल्ला गर्ने समाज किन त्यही घटनाको सफल अनुसन्धानबाट प्रहरीलाई स्यावासी कन्जुस्याई गर्छ भन्दै थापाले प्रश्न गरे। समाजमा जे छ प्रहरीमा त्यही देखिने भन्दै त्यसैले प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहने समाजले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्ने बताए।

प्रहरी संघीय स्वरुपमा गएसँगै यसले धेरै प्रहरी कर्मचारी संगठनको अग्रगामी विकास हुने बताए। समायोजनका लागि तयारी अवस्थामा रहन समेत गृहमन्त्री थापाले भने।

संगठनको सुदृढीकरण र शुद्धीकरणका लागि प्रहरी नेतृत्वले थालेको अभ्यासलाई गृह मन्त्रालयले सदैव सकारात्मक सहयोग रहने विश्वास दिलाए। प्रहरीको रासन लगायका सुविधामा समयानुकूल सुधार गर्दै लैजाने र प्रहरीको मनोबल उच्च पार्ने गृहमन्त्री थापाको आश्वसन छ।

कोरोना संक्रमणको जोखिमकाबीच पनि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संगठनप्रति नागरिकको आशाको दियो बचाइराख्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad