ad ad

राजनीति


दिल्लीको साउथ ब्लकमा ‘मोदीको नेपाल भ्रमणबारे छलफल’

दिल्लीको साउथ ब्लकमा ‘मोदीको नेपाल भ्रमणबारे छलफल’

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १२:४१,

भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यबीच शुक्रबार दिल्लीमा पहिलो पटक औपचारिक भेटवार्ता भएको छ।

भारतीय विदेशमन्त्रालय साउथ ब्लकमा शुक्रबार बिहान भएको औपचारिक भेटमा विदेशमन्त्री जयशंकर र राजदूत आचार्यबीच उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको बताइएको छ।

एस जयशंकर भारतको विदेशमन्त्री नियुक्त भएपछि नेपाली राजदुतले औपचारिक रुपमा भेटवार्ता गरेको यो पहिलो पटक हो। यसअघि उनीसँग राजदूतको अनौपचारिक भेटघाट भइरहेको थियो।

शुक्रबार बिहान साउथ ब्लकमा विदेशमन्त्री जयशंकरसँग भेटवार्ता भएको दिल्लीस्थित नेपाली दूतावासले पुष्टी गरेपनि छलफलका विषयबारे विस्तृत खुलाएको छैन।

‘आज राजदूत निलाम्बर आचार्यले विदेशमन्त्री एस जयशंकरसँग उहाँको कार्यालयमा भेटवार्ता गर्नुभयो र नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा विस्तृत छलफल गर्नुभयो’, दूतावासले ट्वीटमा भनेको छ।

राजदुत आचार्यले शुक्रबार अपरान्ह नेपालखबरसँग आफु ‘निकै महत्वपूर्ण बैठकमा रहेको’ भन्दै मन्त्रीसँगको भेटवार्ताबारे पछि विस्तारमा कुरा गर्ने बताए।

दिल्लीस्थित स्रोतहरूले मन्त्री जयशंकर र राजदुत आचार्यबीच करिब एक घण्टा छलफल भएको अनौपचारिक रुपमा जनाएका छन्।

केही दिनअघि राजदूत आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए।

भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउने चर्चा भइरहेका बेला अहिले प्रधानमन्त्री नरेन्द्र मोदी चाहिँ पहिला नेपाल भ्रमणमा आउने तयारी भइरहेको बुझिएको छ। त्यही उच्च भ्रमणको सुरक्षा व्यवस्था समेत मिलाउने क्रममा केही दिनअघि ‘रअ’ का अधिकारीहरूको एउटा टोली काठमाडौं आएको थियो।

‘केही दिनपछि, अगष्ट महिनाको सुरुमा प्रधानमन्त्री मोदी भुटान भ्रमणमा जाँदैछन्, त्यसपछि नेपाल भ्रमण गर्ने तयारी हुँदैछ’, दिल्लीस्थित साउथ ब्लकको तयारीबारे जानकार स्रोतले नेपालखबरसँग भन्यो, ‘संभवतः मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम समेत मिलाएर प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुन सक्नेछ।’

भारतबाट को आउने भन्ने निश्चित नभएकाले अहिलेसम्म पाइपलाइन उदघाटनको मिति तय गरिएको छैन। नेपाल र भारतका प्रधानमन्त्रीले सिलान्यास गरेको पाइपलाइन सकेसम्म प्रधानमन्त्रीस्तरबाटै उदघाटन गराउने सोचाइ नेपालले पनि बनाएको छ।

अहिलेको तयारी अनुसार नै भयो भने अगष्टको अन्तसम्म अर्थात एक महिनापछि प्रधानमन्त्री मोदी नेपाल आउने छन्। त्यसअघि विदेशमन्त्री जयशंकरले नेपाल भ्रमण गर्ने तयारी पनि भइरहेको छ।

दोस्रो पटक भारतको प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो नेपाल भ्रमाण हुनेछ। यसअघि जनकपुर पुगेका मोदीले यसपाली लुम्बिनीको समेत भ्रमण गर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .