ad ad

राजनीति


सरकारी वार्ता टोलीलाई लिएर शिक्षामन्त्री पोखरेल बालुवाटारमा

सरकारी वार्ता टोलीलाई लिएर शिक्षामन्त्री पोखरेल बालुवाटारमा

नेपालखबर
असोज २४, २०७७ शनिबार ५:५०,

चिकित्सा शिक्षा सुधारको माग राखेर आमरण अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोलीलाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार पुगेका छन्।

शुक्रबार राति भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि शनिबार बिहान ११ बजे मन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्री निवास पुगेका हुन्। शिक्षा मन्त्रालय स्रोतका अनुसार डा. केसीसँग सहमतिको खाका तयार गर्नका लागि मन्त्री पोखरेल बालुवाटार गएका हुन्। अहिले बालुवाटारमा शिक्षामनत्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको स्रोतले बतायो।

स्रोतका अनुसार यसअघि शुक्रबार साँझ पनि शिक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटार पुग्दा पनि प्रधानमन्त्रीसँग भेट्ने समय नमिलेपछि टेलीफोन कुराकानी गरेर उनी मन्त्रालय फर्किएका थिए।

‘शुक्रबार साँझ पनि शिक्षामन्त्री प्रधानमन्त्रीसँग भेट गर्नका लागि बालुवाटार पुग्नु भएको थियो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘भेट्नका लागि प्रधानमन्त्रीको समय नमिलेपछि टेलिफोनमा कुराकानी गरेर फर्किनु भएको हो।’

मन्त्रालय फर्केपछि शुक्रबार राति नै मन्त्री पोखरेलले सरकारी वार्ता टोलीलाई राखेर सहमतिका लागि गृहकार्य गरेका थिए। सहमतिको सामान्य खाका तयार गरेर डा. केसी पक्षधरलाई वार्तामा बोलाउन सरकारी वार्ता टोलीलाई आग्रह गरेका थिए।

सोही तयारी बमोजिम शुक्रबार राति दुवै पक्षबीच  दुई घण्टा लामो छलफल भए पनि कुनै सहमति हुन नसकेको स्रोतले बतायो।

बुधबार सरकारले वार्ताटोली गठन गरेपछि बिहीबार दुवै पक्षबीच दिनभर वार्ता भएको थियो। बिहीबारको वार्ता सकारात्मक भए पनि शुक्रबार रातिको वार्तामा सरकारपछि पछि हटेको केसी पक्षीय वार्ता टोलीले आरोप लगाएको छ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै डा. केसी २७ दिनदेखि आमरण अनशनमा रहेका छन्। पछिल्लो समय उनको स्वास्थ्य अवस्था गम्भीर भएसँगै मन्त्री पोखरेलले समस्या समधानका लागि पहलकदमी लिएका हुन्।

याे पनि  :  सरकारले वार्ता प्रक्रिया लम्ब्याएर डा. केसीको ज्यान लिने नियत राख्यो : केसी पक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .