सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकीकरणको विषयमा निर्णय गर्न थप समय लाग्ने भएको छ।
जसको प्रभाव मंगलबारको सचिवालय बैठकमा पनि देखियो। बैठकमा कुनै ठोस एजेण्डामा प्रवेश नै नगरी सकिएको थियो।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नजुटेकै कारण पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने र मन्त्रिमण्डल पुनर्गठन गर्ने दुवै काममा ढिलाई भएको एक सचिवालय सदस्यले बताए।
नेताहरुबीच कुरा नमिलेकै कारण मन्त्रिमण्डल पुनर्गठनमा केही न केही ढिला हुने संकेत देखिएको ती सदस्यले बताए।
प्रधानमन्त्रीले दसैँ अघिनै मन्त्रिमण्डलमा फेरबदल गर्न खोजेको देखिए पनि दुई अध्यक्षबीच कुरा नमिलेर रोकिएको हुनसक्ने ती नेताले बताए।
‘प्रधानमन्त्रीले दसैँ अगाडि नै पुनर्गठन गर्न खोजेको देखिन्छ तर ठ्याक्कै मिति भनेर दुबै अध्यक्षले केही पनि बताउनु भएको छैन, अब बस्ने सचिवालय बैठकमा यी सबै विषयमा अलि प्रष्टता आउला,’ उनले भने।
१० दिनमा एकीकरणका बाँकी काम सम्पन्न गर्ने कार्ययोजना ल्याउन दिएको म्याद गुज्रेपछि मंगलबार बसेको बैठकमा एकीकरणका बाँकी काम टुंगो लगाउने विषयमा सामान्य छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
अध्यक्षद्वयबीच कुरा नमिलेकै कारण एकीकरणको विषय समेत लम्बिएको अर्का एक सचिवालय सदस्यले बताए।
‘हामीलाई दुईटै अध्यक्षको कार्यशैली थाहा छ, उहाँहरु मिल्नुभयो भने सबै काम स्वाट्टै गर्नुहुन्छ, मिलेन भने यस्तै बिना तयारीका बैठक राख्नुहुन्छ,’ मंगलबारको सचिवालय बैठकतिर संकेत गर्दै सचिवालयका ती सदस्यले भने।
एकीकरणका बाँकी काम सम्पन्न गर्ने, मन्त्रिमण्डल पुनर्गठन, राजदूत सिफारिश, संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न मंगलबार बसेको बैठक गोविन्द केसीको अनसनमा केन्द्रित भएर सकिएको थियो।
‘आजको बैठकमा कुनै एजेण्डामा छलफल नै भएन, बैठकको सुरुमै दुई अध्यक्षले तयारीबिनाको बैठक भन्दै सुरु गर्नुभयो,’ ती सचिवालय सदस्यले नेपालखबरसँग भने।
असोज १५ गते प्रधानमन्त्री ओलीले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिश गरेपछि उनले एकलाैटि गरेकाे भन्दै सचिवालय सदस्यहरु असन्तुष्ट बनेका छन्।
सोही विषयमा छलफल गर्नको लागि मंगलबार सचिवालय बैठक बोलाइएको थियो। तर बैठक नियमित एजेण्डामा प्रवेश नै नगरी सकिएको थियो।
‘आज कुनैपनि एजेण्डामा छलफल भएन, त्यस्तो केन्द्रित एजेण्डै थिएन, तयारी गरेर बैठक बोलाइएकै थिएन। मनलागेको कुरा विभिन्न ढंगले भनियो त्यही हो,’ वरिष्ठ नेता झलनाथ खनालले भने।
बैठकमा गोविन्द केसीसँग तुरुन्त वार्ता गर्न, समस्याको समाधान गर्न र उनको जीवन रक्षा गर्न कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल तथा नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधामन्त्रीलाई सुझाव दिएका थिए।
त्यसपछि झण्डै ३५ मिनेट ओलीले डा. केसीका माग, उनीसँग भएका सहमति कार्यान्वयनमा अहिलेसम्मको प्रगति र अनसन तोड्न उनलाई अनुरोध गर्नका लागि शिक्षासचिव गएकोबारे ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया