बोक्सीको आरोपमा दिसा खुवाएर निर्घात कुटपिट गरिएकी मूर्तिदेवी यादव उपचारपछि तंग्रिएलिन् भन्ने आस गरेका थिए, परिवारजनले।
तर, उनी भने अस्पतालबाट फर्केको एक साता बितिसक्दा पनि सामान्य दैनिकीमा फर्किन सकेकी छैनन् । घरमा भेट्न आउने आफन्तजनलाई टोलाएर हेर्छिन्, केही बोल्दिनन्, बरर आँसु मात्रै झार्छिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सिरहाबाट मणिलाल विकले लेखेका छन्।
मंगलबार मध्याह्न सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डी गाउँस्थित घरमा उनी मूर्तिजस्तै बसिरहेकी थिइन् । उनलाई भेट्न आफन्तजन आइरहेका थिए । उनी सबैका कुरा एकनासले सुनिरहेकी थिइन्।
आफन्तले ढाडस दिइरहेका थिए । तर, उनी भने कसैसँग पनि एक शब्दसमेत बोलिनन् । आफन्तजनले बोलेको सुनिरहिन् । उनीहरूलाई टोलाएर हेरिरहेकी उनले बीचबीचमा बरर आँसु मात्रै झारिन्।
उनलाई भेट्न आएका आफन्तजन पनि निन्याउरो मुहार लगाएर फर्किन्छन् । उनी नबोलेपछि उनकी छोरी संगीतासँग कुराकानी गर्छन् । ‘विक्षिप्त हुनुहुन्छ । केही बोल्नुहुन्न, अरूले सम्झाउँदा रुनु मात्रै हुन्छ,’ छोरी संगीताले भनिन् । आफूहरूसँग पनि नबोल्ने गरेको संगीनाले सुनाइन्।
कुटपिटबाट मूर्तिदेवीको अनुहारको बायाँपट्टिको चारवटा दाँतले ठाउँ छोडेको छ भने चिउँडोको हड्डी भाँचिएर स्टिल हालिएको छ । उनले २४ दिनदेखि ठोस खानेकुरा खान पाएकी छैनन् । त्यसैले होला उनको शरीर पनि गलेको छ। ‘
मुख नै चलाउन नमिल्ने भएकाले जुस, दालको झोल, दूध मात्रै खुवाइरहेका छौँ । अन्य खानेकुरा खुवाउन सकिएको छैन,’ संगीताले भनिन्।
बोक्सीको आरोपमा स्थानीयले २७ भदौको मध्यराति मन्दिरमा लगेर निर्घात कुटपिट गरेका थिए । सख्त घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । १३ दिन अस्पताल बसाइपछि उनी ११ असोजमा गाउँ फर्किएकी थिइन्।
फेरि पनि उनको परिवारलाई पीडकहरूले धम्क्याउन छाडेका छैनन् । अप्रत्यक्ष रूपमा कुटपिट गर्नेका आफन्तले घटना सार्वजनिक गरी गाउँको बदनाम गराएको भन्दै धम्की दिइरहेको मूर्तिदेवीका पति रामनारायणले बताए। ‘
गाउँको घटना मिडियामा दिएको र त्यही कारण मुद्दा दर्ता भएको छ भनेर धम्की दिइरहेका छन्,’ रामनारायणले भने, ‘राम्रो हुँदैन भन्दै अप्रत्यक्ष रूपमा धम्क्याउन थालेका छन्।’

प्रतिक्रिया