राजनीति


रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक तथा पर्यटकीय राजधानी बनाइने

रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक तथा पर्यटकीय राजधानी बनाइने

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार ७:२०,

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) क्षेत्रलाई बनाउन प्रदेश सरकारले संसदमा प्रस्ताव गरेपछि त्यसविरुद्ध आन्दोलन भइरहेको छ।

आन्दोलनलाई मत्थर पार्न प्रदेश सरकारले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक तथा पर्यटकीय राजधानी बनाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको बुटवल–भैरहवा करिडोरलाई भने वित्तीय राजधानी बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदै छ। काँग्रेसलगायत रुपन्देही संघसंस्थाले विरोध गरेपछि रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई समेट्ने गरी सरकारले आर्थिक तथा पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो।

बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका क्षेत्र तिलौराकोट, देवदह, रामग्रामलगायत क्षेत्रलाई समेटेर विकास गर्ने उद्देश्यले प्रदेश सरकारले यी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेको मन्त्री चौधरीले बताए।

यस्तै, मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने निर्णय पनि गरेको छ।
यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको छ।

आज बस्ने प्रदेश सभा बैठकमा अवरोध नभए मुख्यमन्त्री पोखरेलले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने विषयबारेको प्रस्ताव संसदमा पेस गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .