प्रदेश ५ को प्रदेश सभामा आज भएको कुर्सी तोडफोडको विषयमा सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले जनताले तिरेको करबाट बनेको संरचना भत्काउने अपराधि भएको भन्दै उनीहरुलाई सजाय हुनुपर्ने माग गरेका छन।
पूर्व अर्थसचिव रामेश्वर खनालले यसरी सार्वजनिक सम्पत्ती तोडफोड गर्ने, करदाताको पैसाबाट निर्मित संरचना भत्काउने अपराधि सांसद हुन योग्य नरहेको बताएका छन।
उनी लेख्छन, ‘सार्वजनिक सम्पत्ती तोडफोड गर्ने, करदाताको पैसाबाट निर्मित संरचना भत्काउने अपराधी हुन। यस्ता अपराधी सांसद हुन योग्य छैनन।’
ट्विटर मै नेस्ट एन्जिल नामका प्रयोगकर्ता लेख्छन, ‘कुर्सी भाँच्नेलाई अरु कारबाही जे भए पनि आफुले तोड्फोड गरेको कुर्सी आफैंले किनेर नल्याएसम्म संसदमा बस्ने कुर्सी व्यबस्था नहोस र त्यो लाइभ देख्न पाइयोस।’
असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। त्यसको विरोधमा सोमबार प्रदेश सभाको बैठकमा आक्रोसित कांग्रेस सांसद वसिउद्दिन खान, अष्टापुजा पाठक, बैजनाथ कलवार र जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सीटेबल तोडफोड गरेका थिए।
सुरुमा खानले कुर्सी तोडफोड गरेका हुन्। त्यसपछि अन्य सांसदले पनि तोडफोड सुरु गरे। यस्तै, कांग्रेस सचेतक निर्मला क्षेत्री, पुष्पा थरुनी, रमा अर्यालले माइक तोडफोड गरे। विरोधका बावजुद मन्त्री केसीले प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरे।
यस क्रियाकलापको अहिले चौतर्फी विरोध भइरहेको छ। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कवि शिरोमणि लेखनाथ पौड्यालको कविताको एक पंक्ति लेख्दै गुरुहरुले जे सिकाए कुर्सी भाच्नेले त्यही गरेको उल्लेख गरेका छन।
उनी लेख्छन्, ‘नेपालको संघियता जनताको आँगनमा होइन, शीर्ष नेताको खल्तीमा। जे सिकाए गुरुहरूले यिनले त्यही गरे। तर यिनलाई डर छैन किनकी चुनाव टाढा छ र मान्छेको स्मरण छोटो छ।’
ट्विटरमै मनोज पुरीले कुर्सी तोडफोड गर्नेलाई अनुशासनको दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्ने हिम्मत राख्नुपर्ने बताएका छन।
उनी लेख्छन, ‘प्रदेश ५ को संसदमा नेपाली कांग्रेसका ३ सांसदले गरेको कुर्सी तोडफोडले संसदीय व्यवस्थाको अनुयायी कांग्रेसको आस्था माथि नै प्रहार भएको छ। नेपाली कांग्रेसले ती सांसदलाई अनुशासनको दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्ने हिम्मत राख्नुपर्दछ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताएका छन।
उनी लेख्छन, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन।’
सुशन घिमिरेले ट्विटरमा शासकीय संरचना फेरिएपनि राजनीतिक संस्कार फेरिन नसकेको टिप्पणी गरेका छन।
उनी लेख्छन, ‘संसदमा कुर्सी तोडफोड न हिजो ठिक थियो न आज। असन्तुष्टि पाखेर सम्पत्ती तोडफोड गरिनु अराजकता हो। समय फेरियो , शासकिय संरचना फेरियो तर राजनीतिक संस्कार फेरिन सकेन। जे भयो गलत भयो।’

प्रतिक्रिया