पटक पटक स्थगित भएको सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ।
मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि शनिबार र आइतबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार विहान छलफल भएपछि सचिवालय बैठक मंगलबार गर्ने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगरी विभिन्न राजदूत नियुक्ति गरेपछि त्यसबरे सचिवालय बैठकमा छलफल गरिन लागेको हो।
राजनीतिक नियुक्तिकै विषयमा मुख्यरुपमा छलफल हुने एक सचिवालय सदस्यले बताए।
‘पार्टीमा सल्लाह नगरी प्रधानमन्त्रीले केही नियुक्ति गर्नुभएको छ,’ ती सचिवालय सदस्यले भने, ‘त्यसबारे मुख्य रुपमा छलफल हुन्छ, त्यसबाहेक पार्टी एकताका बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने बारेमा पनि छलफल हुन्छ।’
नेकपाको असोज ६ गते बसेको सचिवलाय बैठकले पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने कार्यायोजना ल्याउन अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई १० दिनको समय दिएको थियो। सो समय सकिएको छ।

प्रतिक्रिया