राजनीति


सरकारलाई देउवाको चेतावनी : अनशनरत डाक्टर केसीसँग तुरुन्त वार्ता गर

सरकारलाई देउवाको चेतावनी : अनशनरत डाक्टर केसीसँग तुरुन्त वार्ता गर

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:२८,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारसँग माग गरेका छन्।

आज एक वक्तव्य जारी गर्दै देउवाले डा. केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको भन्दै वार्ता गरी उनको जीवन रक्षाको अपिल गरेका हुन्।

देउवाले भनेका छन्, ‘डा. गोविन्द केसीको अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ।’

चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्न माग गर्दै डा. केसी पछिल्लोपटक अनशन बसिरहेका छन्। उनका मागहरु केवल एक व्यक्तिको माग नभएको र आफ्नो पार्टीले समेत निरन्तर उठाइरहेको तथा सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएकोले तत्काल पूरा गर्न सरकारलाई देउवाले भनेका छन्।

‘जनभावनाअनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो’, देउवाले भनेका छन्, ‘तर सरकारले सुरूवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कोतर्फ अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ।’

०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको बताउँदै देउवाले समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको सरकारलाई स्मरण गराएका छन्।

उक्त कार्यदलको सुझावबमोजिम सुधारका विविध कार्य अघि बढाएको उनको भनाइ छ। ‘डा. के.सी.का मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४ कार्तिक २४ मा जारी गरेको थियो’, देउवाले भनेका छन्, ‘तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो।’

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेला नै रोपेको देउवाको आरोप छ।

देउवाले डा. के.सी.को जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किञ्चित् ढिलाइ नगर्न आग्रह गर्दै ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad