ad ad

राजनीति


३१ महिनापछि सक्रिय राजनीतिमा महरा, स्थायी समिति सदस्य बनाउने तयारी

३१ महिनापछि सक्रिय राजनीतिमा महरा, स्थायी समिति सदस्य बनाउने तयारी

सागर न्यौपाने
असोज १५, २०७७ बिहिबार १५:३७,

सत्तारुढ नेकपाले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ, जसले उनलाई ३१ महिनापछि सक्रिय राजनीतिमा फर्किन ढोका खोल्नेछ।

सभामुखमा नियुक्त भएको ३१ महिना र राजीनामा दिएको झण्डै एक वर्षपछि महराका लागि सक्रिय राजनीतिको ढोका खुल्ने भएको हो।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ। त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ।

नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो।

पार्टी एकताका बाँकी कामसँगै मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगको पदाधिकारी नियुक्तिलगायतका विषयमा ओली र प्रचण्डबीच ६ दिनसम्म छलफल चलेको थियो। महरालाई स्थायी समितिमा ल्याउने विषय पनि सो छलफलको एउटा एजेन्डा रहेको नेकपाका एक जना सचिवालय सदस्यले बताए।

‘महराजीलाई स्थायी समितिमा ल्याउने तयारी छ, संगठनात्मक प्रस्तावको प्याकेजमै निर्णय गर्दा त्यसबारे पनि निर्णय हुनेछ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँलाई ल्याउने कुरामा विवाद होला जस्तो लाग्दैन।’

अब बस्ने सचिवालय बैठकले यो निर्णय गर्नसक्ने उनको भनाइ छ।

उनी सभामुख हुनुअघि तत्कालीन माओवादी केन्द्रको प्रभावशाली स्थायी समिति सदस्य थिए।

२०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा दाङ २ बाट निर्वाचित महरा सोही वर्षको फागुन २५ गते सभामुखमा निर्वाचित भएपछि सक्रिय राजनीतिमा थिएनन्। सभामुख भएपछि फागुन २७ गते पार्टीका सबै जिम्मेवारीबाट उनले राजीनामा गरेका थिए।

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिए। असोज १९ गते उनलाई प्रहरीले सभामुख निवासबाटै पक्राउ ग¥यो।

उनी कात्तिक १८ गते पुर्पक्षका लागि सदरखोर डिल्लीबजार पु¥याइए। त्यसपछि १ सय ३५ दिन जेलमा बसेर फागुन ५ गते काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएकै दिन महरा जेलमुक्त भए। जेलमुक्त नहुन्जेल उनको सांसद पद निलम्बनमा थियो। फागुन ६ गते सांसद पदको निलम्बन फुकुवा भयो।

पार्टीको पुरानै जिम्मेवारीमा फर्किन महराले अध्यक्षद्वय ओली र प्रचण्डसँग दुवैसँग सन्तुलित व्यवहार गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले वैशाख ८ गते दलविभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको विवादमा उनले ओलीलाई सहयोग पुग्नेगरी विज्ञप्ति निकालेका थिए।

वैशाख १७ गते उनले विज्ञप्तिमार्फद एकता र सहकार्य कायम राख्न अपिल गरेका थिए।

प्रचण्डका विश्वासपात्र भएकै कारण उनी सभामुख भएका थिए। तर, बलात्कार प्रयासको आरोप लागेपछि प्रचण्डले आफ्नो रक्षा गर्न नसकेको भन्दै महरा असन्तुष्ट थिए।

छवि फर्काउने प्रयास
गतवर्ष असोज ६ गते संसदको वर्षे अधिवेशन अन्त्य गराएपछि महराले संसद् भवन टेकेका छैनन्। अधिवेशन अन्त्य गराउँदा उनी सभामुख थिए।

पार्टीको स्थायी समिति सदस्य बनेपछि भने उनी संसद् भवन पनि जानेछन्।

जेलमुक्त भएपछि महराले आफ्नो निर्वाचन क्षेत्रमा गएर गुमेको छवि फर्काउने प्रयास गरे।

जेलमुक्त भएको ६ दिनपछि अर्थात् फागुन ११ गते महरा आफ्नो निर्वाचन क्षेत्र दाङ–२ पुगे। आफूमाथि षड्यन्त्र भएको स्थानीयहरुलाई बताए। रोल्पा, प्युठान र दाङमा एक महिना बिताए।सभामुख भएपछि गर्न नपाएको काम सांसद भएर गर्ने प्रतिबद्धता जनाए।

महरा रोल्पा, प्युठान र दाङ जाँदा उनकी पत्नी पनि साथै थिइन्।

सरकारले कोरोना संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन गरेको थियो। महराले चैतको अन्तिम सातादेखि जेठसम्म दाङमा चामल, दाल लगायतका खाद्यसामग्री वितरण गरे।

आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाको कारण रोजगारी गुमाएका, विपन्न वर्गका लागि महराले ४ सय बोराभन्दा बढी चामल, दाल लगायतका खाद्य सामग्री वितरण गरेका् उनका छोरा राहुल महराले बताए। उनका अनुसार महराले रोल्पामा रहेका ६६ वटा विद्यालयलाई झण्डै ७ हजार थान मास्क पठाएका छन्।

खानेपानी, उर्जा र सहरी विकास मन्त्रालयबाट रोल्पा र दाङमा महराले बजेट लगेको राहुलले बताए।

‘मानसिक समस्यामा रहेकी रोल्पाकी बिट्टु विक र उनकी १ वर्षको छोरीलाई उद्धार गरेर महराले नेपालगञ्ज लगेर उपचार गर्ने प्रबन्ध मिलाउनुभयो,’ राहुलले भने।

अहिले काठमाडौँमा रहेका महरा प्रचण्डसँग नियमित भेटघाटमा छन्।

महरा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए। माओवादीले सुरु गरेको दश वर्षे युद्धमा उनी नेतृत्वपंक्तिमा थिए। २०६३ मा शान्ति प्रक्रियामा आएपछि महरा अहिलेसम्म निरन्तर सांसद छन्। त्यसपछि माओवादी सरकारमा आएपछि निरन्तर मन्त्री र अन्य महत्वपूर्ण पदमा पुग्ने महरा एकमात्र नेता हुन्।

२०७० सालमा रोल्पाबाट चुनाव जितेका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ झरेका थिए।

३१ महिनापछि फेरि पार्टीको सक्रिय राजनीतिमा फर्केपछि महराले नेकपाभित्रको समिकरणमा आफुलाई कसरी उभ्याउँछन् अहिले नै प्रष्ट छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .