राजनीति


आर्मिनिया र अजरबैजानबीच युद्ध छेडियो, आइतबार भएको गोलबारीमा २३ जनाको मृत्यु

आर्मिनिया र अजरबैजानबीच युद्ध छेडियो, आइतबार भएको गोलबारीमा २३ जनाको मृत्यु

नेपालखबर
असोज १२, २०७७ सोमबार ७:३,

यी दुई देशका सेनाबीच विवादित क्षेत्र नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर आइतबार गोलाबारी भएको थियो।

उक्त लडाइँमा एक हेलिकप्टर र एक ट्यांक ध्वस्त बनेको खबरहरु सार्वजनिक भएका छन्। दुई देशले आफ्ना सैनिक र नागरिक मारिएको पुष्टि गरेका छन्।

हालसम्म आइतबारको भिडन्तमा २३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। आइतबार कसले पहिले गोली चलायो भन्नेबारेमा केही बताइएको छैन यद्यपी अजरबैजानका सेनाले तोप र गोली आक्रमण गरेपछि आफूहरुले पनि जवाफी कारवाही गरेको आर्मिनियाको भनाइ छ।

आइतबारको संघर्षपछि विभिन्न देशले यस घटनाको विषयमा प्रतिक्रिया जनाइरहेका छन्।

टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले अजरबैजानको समर्थन गर्ने बताएका छन् भने रुसले आर्मिनिया र अजरबैजान दुवैलाई युद्धविराम गर्न आग्रह गरेको छ।

यी दुवै देश तत्कालिन सोभियत गणतन्त्रका क्षेत्र थिए। रुसले छलफलबाट समस्या हल गरिनुपर्नेमा जोड दिएको छ।

यस्तै अमेरिकाले पनि गोलाबारीको घटनामा आफ्नो भनाइ सार्वजनिक गरेको छ। लडाइँ बन्द गर्नुपर्ने र विवादित बयान दिन नहुने अमेरिकाको भनाइ छ।

फ्रान्सले दुवै देशलाई युद्धविराम गर्दै छलफलबाट समस्या हल गर्न भनेको छ। यस्तै अजरबैजान र आर्मिनिया दुवैसँग सीमा जोडिएको इरानले आफूले दुई देशबीच शान्ति स्थापना गर्न मध्यस्थताको भूमिका निर्वाह गर्न तयार भएको बताएको छ।

चार दशकयता दुई देशबीच सीमाको विषयलाई लिएर तनाव जारी छ। गत जुलाईमा पनि सिमानामा दुई देशका सेनाबीच भिडन्त हुँदा १६ जनाको मृत्यु भएको थियो।

आइतबारको भिडन्त भने पछिल्लो केही वर्षयताकै ठूलो हो।

नागोर्नो–काराबाख विवाद के हो?

नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad