ad ad

राजनीति


बेइजिङमा उपमन्त्रीबाट चीन-भारत तनावबारे राजदूत पाण्डेलाई ब्रिफिङ

बेइजिङमा उपमन्त्रीबाट चीन-भारत तनावबारे राजदूत पाण्डेलाई ब्रिफिङ

चेतनाथ आचार्य
भदौ ३०, २०७७ मंगलबार ६:१६,

बेइजिङ आएको दुई महिना सात दिनपछि चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेट गरेका छन्।

मंगलबार बिहान दस बजे चिनियाँ परराष्ट्रमन्त्रालयको एसियाली विभागका उपमन्त्री लुओ चौउहुईसँग राजदूत पाण्डे भेट गरेका हुन्।

सो भेटमा लगभग एक घण्टा दुईपक्षीय कुराकानी भएको राजदूतसँगै भेटमा सहभागी दूताबासका मिनिष्टर सुशीलकुमार लम्सालले नेपालखबरलाई बताए। सन् २०१५ मा परराष्ट्रमन्त्रीको हैसियतमा पहिलोपटक चीनमा पाइला टेकेका पाण्डे एकैचोटि राजदूतका रुपमा गत जुलाई ९ तारिख दोस्रोपटक चीन आइपुगेका हुन्।

भेटमा उनले आफू परराष्ट्रमन्त्रीका रुपमा पहिलोपटक चीनको भ्रमण गरेको स्मरण गर्दै नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा प्रकाश पारेका थिए।

भेटघाटमा नेपाल चीन सम्बन्धलाई अगाडि बढाउने र प्राथमिकताका विषयमा दुई पक्षीय कुराकानी भएको छ। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयमा सम्पन्न भएका सन्धि सम्झौताहरुको कार्यान्वयलाई जोड दिने विषय छलफलको पहिलो बुँदा रहेको छ।

त्यसैगरी कोरोना संक्रमणको महामारी नियन्त्रणमा नेपाल र चीनबीच भएको सहयोग आदानप्रदानलाई थप गति दिने विषय छलफलको दोस्रो बुँदा रहेको छ।

अहिलेसम्म दुवै मुलुकका उच्चस्तरमा मतैक्य भएका विषयहरुलाई व्यवहारमा उतार्दै तिनीहरुको कार्यान्वय गर्ने विषयमा छलफल भएको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा नेपाल र चीनबीचको सहकार्यलाई अझै प्रगाढ बनाउँदै निरन्तरता दिने विषयमा पनि छलफल भएको छ।

विशेष गरी संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंगठनमा नेपाल र चीनबीचमा सधैँ समझदारी र सहयोग रहँदै आएको छ। यो परम्परालाई कायम राख्दै इन्टरनेशनल कोर्ट अफ जस्टिसको निर्वाचनमा चिनियाँ उम्मेद्वारले १४९ मत ल्याएर जितेका थिए। त्यसमा पनि नेपालको समर्थन रहेको थियो।

राजदूत पाण्डेसँगको भेटमा चिनियाँ उपमन्त्री लुओले चीनको परराष्ट्र नीति र वर्तमान अवस्थाको व्याख्या गरेका थिए। सो अवसरमा उनले चीन र अमेरिका सम्बन्धको पछिल्लो अवस्थामाथि प्रकाश पार्दै चीन र भारतबीचमा देखा परेको असमझदारीका बारेमा ब्रिफिङ गरेका थिए

कार्यभार सम्हालेको नौ हप्तापछि बल्ल राजदूत पाण्डेले नेपालको तर्फबाट राजदूत भएर आएको औपचारिक जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयमा सशरीर उपस्थित भएर गराउने मौका पाएका हुन्।

पाण्डे नेपाल सरकारले राजदूत नियुक्त गरेको पाँच महिनापछि गत जुलाई ९ तारिख बेइजिङ आइपुगेका थिए। बेइजिङ आउनासाथ उनी १४ दिन आफ्नै निवासमा क्वारेन्टिनमा बसेका थिए। त्यसपछि अनलाइन मार्फत आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर कार्यभार सम्मालेका पाण्डेले चिनियाँ परराष्ट्रमन्त्रालयका अधिकारीसँग पहिलो औपचारिक भेटघाट गरेका हुन्।

चीनको सामान्य परिपाटी अनुसार कुनै पनि मुलुकको राजदूतले चीनमा आएपछि आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्र मन्त्रालयमा पेश गरेपछि औपचारिक रुपमा काम गर्न पाउँछन्। त्यसपछि चिनियाँ परराष्ट्रमन्त्रालयको निश्चित समयमा ओहोदाको प्रमाणपत्र चिनियाँ राष्ट्रपति समक्ष बुझाउने कार्यतालिका प्रकाशन गर्दछ। विभिन्न देशबाट आएका नवराजदूतहरुले चिनियाँ राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाउने कार्यतालिका एक वर्षमा चारपटकसम्म राखिएको हुन्छ। तसर्थ सो कार्यतालिका अनुसार कुनै राजदूतले आउनासाथ प्रमाणपत्र चिनियाँ राष्ट्रपतिलाई बुझाउन पाउँछन् भने कसैले तीन महिनासम्म कुर्नुपर्ने हुन्छ।

चालु वर्ष कोरोना संक्रमणका कारण लामो समयदेखि नयाँ राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र चिनियाँ राष्ट्रपतिसमक्ष बुझाउन पाएका छैनन्। आगामी अक्टोबर महिनामा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र चिनियाँ राष्ट्रपति सीलाई बुझाउन सक्ने मिनिष्टर लम्सालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .