राजनीति


साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छः मन्त्री भट्टराई

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छः मन्त्री भट्टराई

प्रकाश न्यौपाने
भदौ २७, २०७७ शनिबार ४:४२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीलाई विश्वको शान्ति ग्रामका रुपमा विकास गरिने बताएका छन्।

शनिबार लुम्बिनीको निरीक्षण गर्दै मन्त्री भट्टराईले भने, ‘सरकारले लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम गरिरहेको छ। यस विषयमा हामी लागिरहेका छौं।’

लुम्बिनी संसारकै आस्था र शान्ति केन्द्र भएको उनले जनाए।

शान्तिस्थल लुम्बिनीको पर्यटन विकास गरेर हामीले धेरै फाइदा लिन सक्ने हुँदा सरकारले यसको वृहतर विकासलाई प्राथमिकताका साथ अघि बढाउने उनले बताए।

मन्त्री भट्टराईले अबको साढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गरिने जनाए।

Yogesh Lumbini 1

‘हामीले साढे दुई वर्षमा गुरुयोजनाको बाँकी काम सकेर यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामको थप विकासमा लाग्छौ,’ उनले भने।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाएका थिए। तर ४२ वर्ष बितिसक्दा समेत गुरुयोजना पूरा हुनसकेको छैन।

लुम्बिनी विकास कोषका अनुसार अहिलेसम्म गुरुयोजनाको ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। १० वर्षभित्र सक्ने भनिएको योजना लामो समय नसकिँदा पर्यटन व्यवसायी र लुम्बिनीबारे जानकारहरुले सरकारको आलोचना गर्दै आइरहेका छन्।

गुरुयोजना पूरा गर्न अझै ७–८ अर्ब रुपैयाँ लाग्ने विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए।

मन्त्री भट्टराईले लुम्बिनीसँग यहाँका स्थानीयको अपनत्व हुनेगरी सरकारले काम गर्ने जनाए।

Yogesh Lumbini 3

‘लुम्बिनीसँगै लुम्बिनी बाहिरको क्षेत्रको पनि विकास गरिने छ। स्थानीयको अपनत्व थप बढाइनेछ,’ उनले भने।

यहाँका स्थानीयले लुम्बिनी भित्रको मात्रै विकास भएको तर बाहिरी क्षेत्रको विकास नहुँदा आफूहरुले अपनत्व ग्रहण गर्न नसकेको बताउँदै आएका छन्।

शुक्रबार भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले शनिबार लुम्बिनीको गुरुयोजनाका कामबारे जानकारी लिएका हुन्।

Yogesh Lumbini 4

उनले मायादेवी मन्दिर, लुम्बिनीमा बनिरहेको पाँच हजार क्षमताको सभाहल, चिनियाँ, थाइ, म्यानमार, कोरियन, जर्मन लगायत मन्दिरको अवलोकन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .