ad ad

राजनीति


के गर्दैछन् आइसोलेसनमा बसेका स्वास्थ्यमन्त्री ढकाल र काठमाडौंका मेयर शाक्य?

के गर्दैछन् आइसोलेसनमा बसेका स्वास्थ्यमन्त्री ढकाल र काठमाडौंका मेयर शाक्य?

सागर न्यौपाने
भदौ २३, २०७७ मंगलबार ११:३०,

परिवारका एक जना सदस्यमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि घरमै आइसोलेसनमा छन्।

कोरोना संकटका बेला सबैभन्दा व्यस्त हुनुपर्ने भएकोले उनी कार्यालय नआए पनि भर्चुअल बैठक राखेर पनि कार्यालयको काम गरिरहेका छन्।

परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि मन्त्री होम आइसोलेसनमा बसेका हुन्।

‘शुक्रबारदेखि उहाँ होम आइसोलेसनमा बस्नुभयो’, मन्त्री ढकालकाे सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालयका सबै काम अनलाइन बैठकहरु राखेर गरिरहनुभएको छ।’

ती सदस्यका अनुसार मन्त्रालयका नीतिगत निर्णयका बेलामा मन्त्रीले सचिव, विभागीय प्रमुख, सहसचिव लगायतसँग भर्चुअल बैठक राखेर संवाद गर्ने गरेका छन्।

कोरोना संकटका कारण अहिले सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले नै व्यस्त हुनुपर्ने निकाय हो।

यस्तो बेलामा मन्त्रीको अनुपस्थितिले समस्या आउनसक्ने भए पनि ढकालले मन्त्रालयको कामलाई अनलाइनमार्फत् दैनिक ब्रिफिङ लिएर सुझाव दिने गरेका उनकाे सचिवालयका अधिकारीहरु बताउँछन्।

‘क्वारेन्टिनमा भएपनि मन्त्रीले मन्त्रालयको काम प्रभावित हुन दिनुभएको छैन’, स्वास्थ्यमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले भने।

आफ्नो स्वाब परीक्षण गर्न दिएर उनी मन्त्रालयमा आउने तयारीमा छन्।

काठमाडौं उपत्यकामा संक्रमण फैलन नदिन काठमाडौैं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले भदौ ३ देखि २४ सम्म निषेधाज्ञा लगाएका छन्।

मुलुकभरका स्वास्थ्यसम्बन्धी मामिलालाई केन्द्रबाट समन्वय र निर्णय गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालयका प्रमुख ढकाल नै होम आइसोलेसनमा छन् भने राष्ट्रिय राजधानी र सबैभन्दा ठूलो शहर काठमाडौंका मेयर पनि आइसोलेसनमा छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने आफैलाई कोरोना संक्रमण भएपछि १० दिनदेखि घरमै आइसोलेसनमा बसेका छन्।

शाक्यले नेतृत्व गरेको काठमाडौं महानगर यतिबेला कोरोनाको मुख्य हटस्पट बनेको छ। दैनिक सयौंको संख्यामा संक्रमित थपिइरहेका छन्। मंगलबार पनि देशका ७७ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमै ३०० जनामा संक्रमण देखिएको छ।

सोमबारसम्म यस महानगरभित्रै २७ जना संक्रमितको मृत्यु भइसकेको छ।

कोरोना महानगरभित्र समुदायमा फैलिएपछि मेयर शाक्य पनि चिन्तित महानगरका कर्मचारीकाे भनाइ छ। उनी दैनिक रुपमा महानगरको कामका बारेमा विभागीय प्रमुखहरुबाट ब्रिफिङ लिन्छन् र आवश्यक निर्देशन दिन्छन्।

भर्चुअल बैठकबाटै आवश्यक निर्देशन दिन मिल्ने भएपनि शाक्यले भने त्यसको प्रयोग गरेका छैनन्।

‘महानगरमा भइरहेको कामकारबाहीबारे मेयरले प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुसँग टेलिफोनबाट नियमित ब्रिफिङ लिनुहुन्छ र सोहीअनुसार निर्देशन दिँदै आउनुभएको छ,’ शाक्यका प्रेस संयोजक मोहन बास्तोलाले भने, ‘आँफै आइसोलेसनमा हुनुभएकोले होला अहिलेसम्म भर्चुअल बैठक भने गरिएकाे छैन।’

महानगरभित्र कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट ट्रेसिङ गर्ने लगायतका कामलाई तीव्रता दिन मेयर शाक्यले निर्देशन दिएको बास्तोलाले बताए।

‘उहाँ आफू कार्यालय नआए पनि सबै काम सम्बन्धित निकायहरुले आआफ्नो काम तीब्र गतिमा गर्नुपर्ने भनी विभागीय प्रमुखहरुमार्फत सबैलाई भन्नुभएको छ,’ प्रेस संयोजक बास्तोलाले थपे, ‘संकटको बेलामा पनि कुनै काम रोकिनु हुँदैन भनेर उहाँले भन्नुभएकाे छ।’

केहि दिनयता कोरोना संक्रमणबाट महत्वपूर्ण निकाय हाँकेका सांसद, मन्त्री, मेयर जस्ता प्रमुख व्यक्तिहरु स्वयं वा उनीहरु नजिकका व्यक्ति संक्रमित हुँदा ती निकायहरुका काम प्रभावित भएका छन्।

भक्तपुरका सांसद प्रेम सुवाललाई पनि कोरोना संक्रमण भएको छ।

यसअघि प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव लगायत बिभिन्न प्रदेशका मन्त्री तथा अन्य वरिष्ठ अधिकारीहरुलाई संक्रमण भएको थियो।

वीरगञ्जका मेयर विजय सरावगीलाई संक्रमण भएपछि २५ दिनको आइसोलेसन बसाईपछि उनी कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .