ad ad

राजनीति


प्रधानमन्त्री ओली र शेख हसिनाबीच मंगलबार भिडियो कन्फ्रेन्स हुँदै

प्रधानमन्त्री ओली र शेख हसिनाबीच मंगलबार भिडियो कन्फ्रेन्स हुँदै

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १५:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग भिडियो कन्फ्रेन्स गर्ने भएका छन्। दुवै नेताहरुबीच मंगलबार कोभिड १९ रोकथामको अनुभवको आदानप्रदानसहित द्विपक्षीय विषयहरुमा छलफल हुनेछ।

‘दुवै देशका प्रधानमन्त्रीबीच मंगलबार भिडियो कन्फ्रेन्सको तयारी छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘कोभिड १९, समुद्री आँधीको पुर्‍याएको क्षतिलाई कम गर्दै बंगलादेशले विकास निर्माण र अर्थतन्त्रमा गरेको प्रगतिलगायतका विषयमा छलफल हुने छ।’

त्यसैगरी उर्जा व्यापार, कृषिमा सहकार्य, पारवहन, जनस्तरको सम्बन्ध विस्तार, बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको विषयमा पनि दुई नेताहरुबीच छलफलको तयारी रहेको स्रोतले जनायो।

करिब दुई शताब्दीपछि आएको अम्पन नामको सुपर चक्रवातले बंगलादेशमा भौतिक क्षति पुर्‍याएपनि विपद् व्यवस्थापनको तयारीको कारण न्यून मानवीय क्षति भएको भन्दै सरकारको प्रशंसा भएको थियो।

त्यस्तै पछिल्लो दशकमा बंगलादेशले आर्थिक रुपले पनि ठूलो फड्को मारेको छ।

‘पछिल्लो १२ वर्षमा आर्थिक क्षेत्रमा ठूलो प्रगति गरेको छ बंगलादेशले। भौगोलिक रुपमा नेपालजत्रै देश भएपनि खाद्यान्न बचत छ। दुवै देश कृषिमा सहकार्य गर्ने विषयमा सकारात्मक छन्,’ एक अधिकारीले बताए।

बंगलादेशले बिहीबार मात्रै नेपाललाई कोभिड १९ को उपचारमा प्रभावकारी देखिएको रेमडिसिविर औषधि ५ हजार डोज उपलब्ध गराएको थियो।

सीमा जोडिएका भारत र चीनबाहेक भौगोलिक रुपमा सबैभन्दा नजिक रहेको बंगलादेशसँग नेपालले पछिल्लो समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान सुरु गरेको छ। गत मार्चमा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने कार्यक्रम थियो।

तर, कोरोना भाइरसको महामारी सुरु भएपछि सो भ्रमण रद्द भएको थियो। राष्ट्रपति भण्डारीले बंगलादेशी संसदको विशेष सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि थियो। यसअघि राष्ट्रपति भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले गत कात्तिक अन्तिम साता नेपालको चार दिने भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .