प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको नेशनल डिफेन्स कलेज (NDC) को भ्रमणदलका प्रमुख मेजर जनरल नाकिव अहमेद चाैधरीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।।
आइतबार भएकाे भेटवार्तामा उनीहरुबीच दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको जंगी अड्डाले जनाएकाे छ। भेटवार्ताको कार्यक्रम पश्चात भ्रमणदललाई जंगी अड्डामा नै श्री युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी मूलक ब्रिफिङ्ग भएको थियो।
उक्त भ्रमण दलले आइतबार नै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो।
मित्रराष्ट्र बंगलादेशी सेनाका मेजर जनरल चाैधरीकाे नेतृत्वमा २७ सदस्यीय भ्रमण दल शनिबार नेपाल भ्रमणको लागि काठमाडाैं आईपुगेको हो। उक्त भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हेड क्वा६रको निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी श्रावण ०९ गते बंगलादेश फिर्ता हुने कार्यक्रम रहेको छ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया