राजनीति


सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छः प्रधानमन्त्री ओली

सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छः प्रधानमन्त्री ओली

नेपालखबर
भदौ ३, २०७७ बुधबार १५:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन्।

नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आज सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अङ्ग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक्ने विश्वास दिलाए।

प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने अवगत गराएका थिए। नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएकामा सोविरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ।

नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रष्ट उल्लेख गरिएको छ। हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको कुलपति उप्रेतीले स्पष्ट गरे।

कतिपय शहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेका अवस्थामा सवारी साधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकले सहजै न्याय नपाउने सम्भावना बढी हुने प्रतिष्ठानको धारणा छ।

देवकोटा सङ्ग्रहालयको प्रस्ताव प्रतिष्ठानका प्राज्ञ शशी लुमुम्बुका अनुसार सो अवसरमा प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा उनको जन्मघरमा स्थापना हुने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्ताव ल्याउन आग्रह गरेका थिए। कोभिड –१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने प्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad