प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले त्यसका लागि विस्तृत योजना तयार गरेर ल्याउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन पनि दिएका छन्।
मन्त्रिपरिषद् बैठकमा कोरोना अनियन्त्रित हुँदै गएकोले सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेको थियो। केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने बताएका थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग राय लिएको एक मन्त्रीले जानकारी दिए।
‘विभिन्न विकल्पमा छलफल भयो। तर प्रधानमन्त्रीले बुधबार सीसीएमसीको बैठक बसेर विस्तृत योजना ल्याउनुस्, बिहीबारको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गर्छ, भन्नुभयो,’ ती मन्त्रीले भने।
सोमबारकै बैठकले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ। त्यस्तै प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया