‘चिनियाँ सेनाले मेको सुरुवातमा लद्दाखमा अतिक्रमण गरेको थियो..।’
भारतीय रक्षा मन्त्रालयको वेबसाइटमा मंगलबार प्रकाशित यस्ताे दस्तावेज अहिले एकाएक गायब गरिएकाे छ।
उक्त दस्तावेज रक्षा मन्त्रालयको वेबसाइट ‘वाट्स न्यु’ सेक्सनमा उपलब्ध थियो तर बिहीबार छैन।
मंगलबार प्रकाशित दस्तावेजमा लेखिएको थियो, ‘५ मेदेखि वास्तविक नियन्त्रण रेखा (एलएसी), खासगरी गलवान उपत्यकामा चिनियाँ आक्रमण बढिरहेको छ। चिनियाँ पक्षले १७–१८ मेमा कुङराङ नाला, गोगरा र पेङगोङ तालको उत्तर किनारमा अतिक्रमण गरेकाे थियो।’
‘चाइनिज अग्रेसन अन एलएसी’ शीर्षकको दस्तावेजमा अगाडि भनिएको थियो- ‘स्थिति नियन्त्रणका लागि दुई पक्षका सेनाबीच छलफल भएको थियो। यसै सिलसिलामा ६ जुन मा दुई देशबीच लेफ्टिनेन्ट जनरलस्तरमा वार्ता भयो। तर पनि १५ जुनमा दुई देशका सैनिकबीच झडप भयो। जसमा दुवै पक्षमा मृत्यु भयो।’
रक्षा मन्त्रालयको उक्त दस्तावेजनमा पूर्वी लद्दाखमा चीनको एकतर्फी आक्रमणले स्थिति तनावपूर्ण भइरहेको उल्लेख गरिएको थियो।
दस्तावेजमा लेखिएको थियो, ‘यो क्षेत्र लगातार संवेदशील बनिरहेको छ। यसकारण त्यस क्षेत्रमा कडा निगरानी गर्दै परिवर्तित अवस्था हेरेर तुरुन्त कारबाही गर्न जरुरी देखिन्छ।’
तर बिहीबार उक्त दस्तावेज भारतीय रक्षामन्त्रालयको वेबसाइटबाट गायब गरिएको छ।
यो खबर आउनेबित्तिकै कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको कटाक्ष गरेका छन्। ट्विट गर्दै सोधेका छन्, ‘प्रधानमन्त्री झुटो किन बोलिरहेका छन्?’
उनले अगाडि लेखेका छन्, ‘चीनको प्रतिरोध गर्नु त परको कुरा, भारतका प्रधानमन्त्रीमा उसको नाम लिने साहस पनि छैन। यो कुरा अस्वीकार्य छ कि चीन हाम्रो मातृभूमिमा छ र वेबसाइटबाट दस्तावेज हटाउँदैमा तथ्य बदलिँदैन।’
— Rahul Gandhi (@RahulGandhi) August 6, 2020चीन का सामना करना तो दूर की बात, भारत के प्रधानमंत्री में उनका नाम तक लेने का साहस नहीं है।
इस बात से इनकार करना कि चीन हमारी मातृभूमि पर है और वेबसाइट से दस्तावेज़ हटाने से तथ्य नहीं बदलेंगे।
भारत र चीन सीमा विवाद समाधानका लागि दुई देशबीचका सैनिकबीच लगतार वार्ता भइरहेको छ तर अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन।
पछिल्लोपटक आइतबार भारत र चीनका लेफ्टिनेन्ट जनलरस्तरका सैन्य अधिकारीबीच वार्ता भएको थियो। जुन अधुरो रह्यो।
यसअघि तनावग्रस्त क्षेत्रमा सेना पछि हट्ने विषयमा दुवै देशका फरक–फरक भनाइ सार्वजनिक भएका छन्। चीनले विवादित क्षेत्रको धेरैजसो स्थानबाट सेना पछि हटिसेकेको बताइरहेकाे छ भने भारतले यस विषयमा ‘केही प्रगति’ भएको जनाएकाे छ। बीबीसी

प्रतिक्रिया