राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ।
राष्ट्रियसभाले आज सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ। सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ।
राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्नुुपर्नेछ। निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन ४।३० बजे सूची प्रकाशन गरिनेछ। यस्तै सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने गर्ने र समर्थकले समर्थन गर्ने छन्।
सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्यतालिका तयार गरिएको छ। शनिबार मात्रै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावलीको बाधा अडकाउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका छन्। चारवटै विषयगत समितिको कार्यकाल गत शुक्रबार सकिएको थियो। रासस

प्रतिक्रिया